सञ्चारमाध्यमकाे नालीबेली खाेज्न टाढा जानुपर्दैन

 

केदार कोइराला
श्रमजिवीकाे नाममा पत्रकारकाे टाउकाे गनेर पत्रकारीताकाे राजनीति गर्नेहरूले आफुलाई समयानुकुल परिवर्तन गर्न नसक्नु दरिद्र मानसिकताकाे उपज हाे । पञ्चायतकाे प्रतिबन्धित उर्दि समेत उल्लंघन गर्दै सञ्चारकर्म गर्ने अग्रजहरूले सिकाएकाे पत्रकारीता गर्ने सहकर्मीहरू धेरै पलायन भए केही अझै सकृय छन् । आफैं रिपाेर्टिङ गर्ने र आफैं पत्रिका झाेलामा लुकाएर बेच्ने अनुभव बाेकेका केही अग्रज र सहकर्मी अहिले पनि राज्यकाे उच्च ओहाेदामा छन् ।
रिपाेर्टिङ गरेबापत आलु चिउरा र “वास” मै चित्तबुझाएकाे मिठाे अनुभव याे मानसपटलमा अझै ताजै छ । अशाेक श्रेष्ठ दाइकाे पहिचान बनेकाे विश्वभूमि साप्ताहिकमा काम गर्दाकाे पारीश्रमिक नै आलु चिउरा र “वास” हुन्थ्याे । सुलसुले सैलीमा रिपाेर्टिङ गर्दा पनि स्कुप मार्ने हाेडबाजी चल्थ्याे राजेश मिश्रसँग । स्कुप मारेकाे दिन अशाेक दाइ खुसी भएर दुइटा हर्लिक्सकाे सीसी मगाउनुहुन्थ्याे, हामी दुई भाइ दुई हर्लिक्स बाेतल “वास” स्वाट्ट पारेर रफुचक्कर हुन्थ्याैं । गिद्दे प्रेसबाट श्रीगणेश भएकाे हाम्राे त्याे पत्रकारीता आजकाे आधुनिक संभ्रान्त सञ्चारकर्मकाे स्वादमा लटपटिएर हिजाेकाे त्याे अनुभव एकादेशकाे कथामा सिमीत हुन पुगेकाे छ ।

श्रद्देय, गाेपालदास श्रेष्ठ, गाेविन्द वियाेगी, केशवराज पिंडाली, मदनमणि दिक्षीत जस्ता मुर्धन्य अग्रजहरूसँगकाे सामिप्यता । श्रीआचार्य र राजेन्द्र दाहालले देशान्तरमार्फत सिकाएकाे शब्दाेच्चारण, शिव अधिकारीकाे सुरूचिसँगकाे सहकार्य, नेपाल जागरणमा आदित्यमान श्रेष्ठले देखाउनुभएकाे पत्रकारीताकाे मूल्य र मान्यता, वालमुकुन्द देव पाण्डेसँग जनमञ्चकाे बसाइ, छापा पत्रकारीता गर्दाकाे सुवर्ण अवसर थियाे ।

बन्धु थापा, उज्वल शर्मा, किशाेर सिलवाल र श्रीराम श्रेष्ठले छापा माध्यममा त्यतिखेर गर्नुभएकाे लगानी नाफाकाे लागि थिएन । प्रजातन्त्र र आवाज विहीन नागरिककाे स्वतन्त्रताकाे लागि थियाे । हामीले छापामा उठाएका विषयवस्तु तात्कालिन शाशककाे लागि फलामकाे च्यूरा सावित हुन्थ्याे । त्याे जाेश, जाँगर र समर्पणकाे स्मरण गर्दा मात्रै पनि आङ सिरीङ्ग हुन्छ अहिले । छापाबाट टेलिभ‍िजन प्रवेसकाे अनुभवले पनि चाैविस वसन्त पार गरिसके छ । किशाेर नेपालले आफु अध्यक्ष हुँदाकाे कार्यकालमा जबर्जस्ति नेपाल टेलिभीजनकाे पर्दामा उतारेपछि शुरू भएकाे टेलिभिजन कर्म अनवरत छ । जमिम शाह, आर के मानन्धर, भाष्कर राज राजकर्णिकार हुँदै राजु प्रसाद कंडेल सम्मकाे मिठासपूर्ण खप्किकाे सामना गर्दै टेलिभिजन कर्मकाे बिंडाे थाम्ने काम भइरहेकै छ ।

विगतलाई फर्केर हेर्दा छुटाउनै नहुने पक्ष छुट्याे भने पाठकमाथि अन्याय हुन्छ । सञ्चार क्षेत्रका बादसाह कहलीएका कैलाश सिराेहियाले बागबजारमा फर्निचर बेच्दा पनि याे पंग्तिकार कलमनै चलाउँथ्याे । जमिम शाहले सिंगापुर र बैंककबाट स्पेसटाइम नेटवर्ककाे नाममा झिटीगुन्टा ओसार्दा सुरूचिमा उनीविरूद्ध समाचार लेखेकै भरमा शाहसँगकाे दाेस्ती प्रगाढ भएकाे हाे । ग्रेहाउण्ड इलेक्ट्राेनिक्सकले माेटाेराेला नामकाे वाकीटकी बेच्दै गर्दा आ के मानन्धरलाई मिडीया आवश्यक परेकाे हाे, त्यही आवश्यकता पूरा गर्ने क्रममा उहाँसँग जाेडिने अवसर जुर्यो । ढुकढुकी, प्रतिभाकाे डवली र जिराे आवर हेरेका दर्शकले आज पनि त्याे स्तरकाे नेपाल टेलिभिजन खाेजिरहेका छन् । हाे त्यही टेलिभिजन कर्ममा तल्लिन थिए भास्कर राज राजकर्णिकार । उनैकाे कार्यक्रम जिराे आवरमा अतथि भएर गएपछि टेलिभीजन कर्मकाे मर्म बुजेकाे अनुभव आजका दिन पनि प्रेरणादायी छँदैछ । बिच्चबिच्चमा उम्रिएका सञ्चार क्षेत्रका साहुमहाजनकाे कुरा सान्दर्भिक नलागेरै लेखिन ।

झण्डै ३७ वर्ष भएछ सञ्चारकर्ममा बिताएकाे । एकाध बाहेक अधिकांश अग्रजहरूकाे स्मरण स्तुत्य लाग्छ । सहकर्मी भुषण दाहाल, शनि राैनियार, इन्द्र लाेहनी, सुशील नेपाल, शुरेस शर्मासँगकाे टेलिभिजन काम गराइ बिर्सन सकिन्न । दुर्गानाथ शर्मा, राजेन्द्रदेव आचार्य टेलिभिजन कर्मका गुरूहरूकाे स्मरण नगरी गुरूप्रतिकाे स्नेह पूरा हुँदैन । केही सहकर्मीहरू राज्यकाे ढुकुटीमा रजगज गर्नमै व्यस्त छन् यतिखेर ।

आजकाे याे आलेख एउटा सञ्चारकर्मीकाे तथा कथित सञ्चारकर्मी भनाउँदाहरूकाे उपद्राे माथिकाे टिप्पणी भनेर बुझे पनि हुन्छ । अझ स्पष्ट हुँदैन भने पत्रकारीताकाे खाेल ओढेर साहुमहाजन ठग्ने र नेताकाे खाेपीमा साष्टाङ्गदण्डवत गरेर जागीर जाेगिन्छ भन्ने प्रवृत्तिकाेविरूद्ध हाे भनेर बुझ्दा अझ सहज हाेला । पछिल्लाे समय पत्रकारमा देखिएकाे छाडापन, उपबुज्रुक बन्ने हाेडबाजी र पशुपतिमा छाेडेकाे साँढे जस्तै मैमत्ता भएर हिंड्ने प्रवृत्तिकाे विकास हुनुले पत्रकारीता नै दुर्गन्धित हाेला भन्ने चिन्ता बढेकाे छ । पत्रकार भेट्दा नाक खुम्च्याउने, पत्रकार भनेका जड्याहा हुन् र मगन्ते हुन् भन्ने छाप छ बजारमा, उद्योगीव्यापारीकाेमा हप्ता उठाउनेदेखि नेताकाे गुलामी गरेर पत्रकार भै टाेपलेकाहरूलाई खाेजीखाेजी गलहत्याउनुकाे विकल्प अब छैन । हाे, यिनै गैर व्यवसायिक चरित्र बजारमा हावी हुँदै गएपछि सञ्चार संस्था कमजाेर बन्दै गएकाे छ । त्यसैले पनि पत्रकार, पत्रकारीता र पत्रकार महासंघमा सुद्धिकरणकाे आवश्यकता छ ।

पत्रकार, पत्रकारीता र सञ्चार उद्योग आजकाे दिनमा संकट ग्रस्त छ । याे संकटबाट उत्रन अझै कति संकट झेल्नुपर्ने हाे टुंगाे छैन । यस्ताे विषम परिस्थितिमा पनि पत्रकारकाे छाता संगठन, नेपाल पत्रकार महासंघ माैसमी वक्तव्यको खेतीमै अल्झेर बसेकाे छ । याे समयमा थिलथिलाे भएकाे सञ्चार उद्योग कसरी बचाउने ? भाेकभाेकै पर्दै गएका पत्रकारकाे चुलाे निभ्न नदिने र महामरीबाट सुरक्षित कसरी रहने ? यिनै विषयमा चिन्तनमनन् गर्नुपर्ने हैन र ? विज्ञापनकाे बजारमा ताला लागेकाे छ । उद्योग व्यापार ठप्प छ । पुँजिगत आम्दानीकाे बाटाेमा पहिरो गएकै कारण पारिश्रमिककाे निरन्तरतामा ब्रेक लागेकाे कटु यथार्थ कसैबाट लुकेकाे छैन । सरकार चाहन्छ सञ्चारमाध्यम अझै जरजर अवस्थामा पुगाेस् र बन्दै हाेस् । सञ्चारकर्मी पलायन हुन् बचेखुचेकाले पेशा नै परिवर्तन गरून् । यस्ताे परिस्थितिमा हाम्राे कर्तव्य के हाे ? र याे जटिलताकाे सहजता कसरी सम्भव छ ? उपाएकाे खाेजि गर्नुपर्ने हाेइन ? उल्टै वक्तव्य र कडा आन्दाेलनकाे चेतावनीसहितकाे परिपत्र गरेर पत्रकार महासंघ जस्ताे व्यवसायीहरूकाे अविभावकत्व लिनुपर्ने संस्थाले केे सन्देस दिन खाेजेकाे ? कतै राज्यकाे निर्देशन पालना गरेकाे त हाेइन ? शंका महासंघमाथि नै उव्जिएकाे छ । त्यसैले अहिलेकाे परिस्थिति न त वक्तव्यबाजीकाे हाे, न त विराेधका लागि विराेध गर्ने समय नै हाे । त्यसैले, राेजगारदाता (मिडीया उद्धमी) पत्रकार र महासंघ बसेर छलफलबाटै निकास खाेज्नुकाे विकल्प छैन । सहयाेग, सद्भाव र सहिष्णुता नै वर्तमान परिस्थितिबाट मुक्ति पाउने सरल उपाय हाे । बुझाैं र बुझाऔं ।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)