संक्रमणसँग खेलाची किन ?

मेचीनगर । भारतको युपीबाट घर आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अब समुदायमा सर्ने आशंकाले स्थानीय त्रसित भएका छन् । जेठ ३० गते युपीबाट झापाको मेचीनगर–६ मा आएका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमित भएको पुष्टि भएपछि समुदायमा फैलिने त्रास बढेको हो ।
सामान्य प्रक्रियासमेत पुरा नगरी उनलाई मेची पुलबाटै नेपाली नम्बर प्लेटको गाडीमा सिधैं काँकरभिट्टास्थित एक होटलमा राखिएको थियो । भोली पल्ट ३१ गते सिधैं घरमा लगिएको थियो । स्रोतका अनुसार एक जनप्रतिनिधीले उनलाई होटलमा पुर्याएका थिए । उनीसँगै भारतबाट आएका केही व्यक्ति भने मेचीनगर–६ स्थित काँकरभिट्टा माविको होल्डिङ्ग सेन्टरमा गएका थिए ।
आवश्यक प्रकृयासमेत पुरा नगरी होटल क्वारेनटाइनको नाममा अहिले पनि काँकरभिट्टामा ६ वटा होटलमा करिब २६ जना मान्छे छन् । एक होटल व्यवसायीले भने – ‘यो गलत भइरहेको छ ।’ यो संक्रमणको समयमा किन लापरवाही गरेको सम्बन्धित निकायले गम्भीर हुनुपर्ने हो । उनले भने अधिकांश मान्छे स्थानीय जनप्रतिनिधी, राजनीतिक दल र प्रहरी प्रशासनको सिफारिसमा सिधैं होटलमा राखिएको थियो ।
न्युनतम १४ दिन क्वारेनटाइनमा राखिनुपर्छ । त्यस पश्चात आवश्यक स्वास्थ्य परिक्षण र रिपोटको आधारमा मात्रै घर पठाउने वा अन्य प्रक्रिया अपनाउनु पर्ने हुन्छ । तर पावर, पहुँच र आफन्तको नाममा किन जिम्मेवार निकाय यो हदसम्मको लापरवाही गरिरहेको छ भन्ने आम सर्वंसाधारणको प्रश्न छ ।
संक्रमितको घर सील गरिएको छ भने संक्रमितसँग सम्पर्कमा रहेका दर्जनौँ व्यक्तिको स्वाव संकलन शुरु गरिएको तर उनी मेची पुलबाट गाडीमा आएकाले चालकसँगै गाडीमा कतिजना थिए ? उनलाई होटलसम्म पुर्याउने जनप्रतिनिधी को हुन् ? ट्राभल्स हिस्ट्रिको अध्ययनको जरुरी छ ।२४ घण्टा पनि नभई किन घर लगियो ? यस्तो मानवीय संक्रमणसँग किन राजनीति गरिँदैछ ? यो राजनीति र कार्यकर्ताको पक्ष पोषण गर्ने बेला होइन ।
होम क्वारेनटाइनमा रहेको उनको असार ३ गते पीसीआरको नमुना बिराटनगरस्थित कोभिड १९ प्रयोगशाला पठाइएको थियो भने पीसीआर रिपोर्ट आइतबार पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल र्पसन जीवन चौलागाईले बताए ।
होटल व्यवसायी संघ मेचीनगरले जेठ २२ गते होटल क्वारेन्टाइन सञ्चालन गरी पाउँ भनी मेचीनगर नगरपालिकमा निवेदन दिएको संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ६ वटा होटलमा २६ जना मान्छे राखिएको छ । तर होटल क्वारेन्टाइन सञ्चालन गर्न आवश्यक स्वास्थ्य मापदण्ढका विषयमा स्थानीय सरकार बेखबर छन् ।स्थानीय सरकार क्वारेन्टाइनमा खर्च गर्नको विकल्पको रुपमा होटल व्यवसायी संघ र स्थानीय संघ–संस्थाले व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने मनसायले जिम्मेवारीबाट पन्छिँदा, संक्रमण बढ्ने खतरा उच्च रहेको स्थानीयको चिन्ता छ । होटल क्वारेन्टाइनका लागी आवश्यक मापदण्ढ प्रहरी र जनप्रतिनिधीले हेर्ने गरेको वडा नम्बर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले बताए ।
कोरोना संक्रमित भेटिएकै होटलको रुममा बसेका एक व्यक्तिमा भने पीसीआर रिपोर्ट नेगेटीभ आएको छ । उनी असार ३२ गते सोही होटलको रुममा बसेका थिए । क्वारेनटाइनको आवश्यक सुधारसँगै राम्रो व्यवस्थापन गर्न नसक्दा पहुँच र पावर भएकाहरु, होटल र घरमै बस्दै आएका हुन् । यसले पनि विभेदको जरा गाडिरहेको तथ्य पुष्टि हुन्छ ।