‘अबको बजेटलाई उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिईनेछ’-नगरप्रमुख आचार्य

मेचीनगर/ मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, लघुउद्यमसँगै रोजगारी सिर्जना गर्ने दीर्घकालिन योजना समेटिने बताएका छन् ।
बुधबार कार्यकक्षमा नगरका सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो धारणा राखेका हुन् । ‘बजेट सार्वजनिक गर्न केही समस्याहरु उत्पन्न भएका छन्’ नगरप्रमुख आचार्यले भने-‘तर, यी सबै समस्याहरुलाई निराकरण गर्दै तोकिएकै समयमा बजेट घोषणा प्रतिबद्धता व्यक्त गर्दछु ।’
त्यसक्रममा उनले कोभिड-१९ बाट उत्पन्न कोरोना संक्रमण नियन्त्रणमा नगर सरकार संवेदनशील रहेको स्पष्ट पार्दै सीमावर्ती क्षेत्रमा रहेको नगरपालिका क्षेत्र संक्रमणबाट त्रसित बनेकाले यो बजेटलाई कोरोना नियन्त्रणका लागि उच्च प्राथमिकता दिईने दाबी गरे ।
‘नगर क्षेत्रका विद्यालयहरुको भौतिक संरचनासँगै प्राविधिक शिक्षामा समेत जोड दिनुपर्ने अहिलेको मुख्य आवश्यकता हो’ नगरप्रमुख आचार्य भन्छन्-‘त्यसैगरी, कृषि उत्पादन तथा निर्यातसँगै आयमूलक रोजगार सिर्जना गर्नुको विकल्प छैन, मलखाद, कृषि औजार, कृषकलाई तालिम, बीउविजन वितरण, अनुदान, पशुपालन, बीमा, चौपायाको खोपजस्ता अति आवश्यकीय वस्तुमा बजेट आकर्षण गरिनेछ ।’
त्यस्तै, उनले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नगरका नागरिकलाई रोजगारमुखी बनाउन लघुउद्यमजस्ता प्रत्यक्ष आत्मनिर्भर गराउने प्रकृतिका विभिन्न योजनालाई बजेटमा समावेश गर्दै उत्पादनमूलक क्षेत्रमा बजेट कार्यान्वयन गरिने प्रष्ट पारे ।