‘अबको बजेटलाई उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिईनेछ’ : नगरप्रमुख राना

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कोभिड १९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्वोधन गर्न नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा रोजगारी सिर्जना हुने र उद्योग व्यवसायलाई राहत मिल्ने गरी योजना तयार गर्ने उल्लेख छ ।
नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा आज बुधवार उपमेयर कमला खतिवडा आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समाजिक सुरक्षा भत्ता बाहेक ७९ करोड ६३ लाख ४१ ह्जार रुपैयाँका योजना आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि प्रस्तुत गर्नुभएको छ ।
मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको नगरसभामा उपमेयर आचार्यले कृषि विकास नीति, पशुपंक्षी मत्स्य नीति, सहकारी, पर्यटन, उद्योग तथा वाणिज्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नीति सार्वजनिक गर्नु भएको छ ।
उहाँले सामाजिक विकासमा शिक्षा, स्वास्थ्य, संस्कृति, युवा, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समाबेशी, मजदुरका विषयमा बजेट सहितको कार्यक्रम रहने नीति प्रस्तुत गर्नु भएको छ । नीतिमा भौतिक पूर्वाधारमा विगतका बहुवर्षिय योजनालाई प्राथमिकता प्रदान गरिएको छ ।
वन वातावरण र विपद व्यवस्थापन तथा सुशासन र संस्थागत विकासलाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकता प्रदान गरिएको छ ।
नगरसभामा नगरका जनप्रतिनिधि, प्रदेशसभा सदस्य बृष प्रधान, राजनीतिक दलका नेताहरु र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।