हल्दिबारीमा बजेट सार्वजनिक गर्ने विषयमा विवाद

बिर्तामोड । बजेट सार्वजनिक गर्ने विषयलाई लिएर झापाको हल्दिवारी गाउँपालिकामा बिवाद सृजना भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि वजेट सार्वजनिक गर्ने तयारी गर्दै गर्दा विवाद सृजना भएको थियो ।
विवादका क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि गएका थिए । उनीसंगै नेपाली कांग्रेसका होमचुडाल समेत घाइते भएको र उनलाई पनि मेची अञ्चल अस्पताल लगिएको अध्यक्ष लिङ्देनले बताए ।
विवादका क्रममा हात हालाहाल भएको र सो क्रममा हल्दिवारी गाउँपालिका – ५ का वडा अध्यक्ष शेरवहादुर नेम्वाङ्ग समेत घाइते भएको बताइएको छ ।
यता गाउँपालिका उपाध्यक्ष डम्वरवहादुर गिरीले अध्यक्ष लिङ्देन आफैंले सभा छाडेर गएको दावी गरेका छन् । अध्यक्ष लिङदेन आफैंले सभा भईरहेको समयमा अर्मयादित ढंगले प्रस्तुत भएको र टेवल फुटाएको उपाध्यक्ष गिरीको भनाई छ । उनले अमर्यादित ढंगले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्धा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेका थिए ।