‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔं’

काठमाडौं । सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूणर् प्रत्याभूति दिन जोड दिए ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चक्रप्रसाद स्‍नेहीले कोभिड(१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । नेकपाकी विमला पौडेलले उद्योगधन्दा पुनस्स्थानका कार्यक्रम ल्याउन,शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्नसमेत आग्रह गरे ।

नेपाली कांग्रेसकी अनीता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपकडको निन्दा गरिन् । उक्त घटनामा सांसदसमेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोर्‍याउनसमेत आग्रह गरिन् ।

यस्तै कांग्रेसकी तारादेवी भट्टले कोभिड(१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याइन् । चुरेको दोहन रोक्न गम्भीर कदम चाल्नसमेत उनले सरकरासँग आग्रह गरिन् ।

जनता समावादी पार्टीका प्रमिला कुमारीले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने गरी विधेयक आएकामा आपत्ति जनाइन् । उनले महिला, यौनिक र अल्पसङ्ख्यक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाको विभेदकारी नीति प्रस्ट भएको जिकिर गरिन् ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए । अर्को बैठक यही असार १५ गते अपराह्‍न १ बजे बस्‍नेछ । (रासस