दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सँच्याए वापत् आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन्

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा बताए। ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुन्छ।’

उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ बताए।

‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ। यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’
उसले नबनाऊ भन्दा भन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै भारतवेष्ठित र खुम्चिएको रहेको परिस्थितिलाई परिवर्तन गर्न खोजेको समेत बताए।
‘हिमाल क्रस गर्न सक्छौं, दुईमध्ये दुवै छिमेकीसँग यातयात र पारवहनमा भुपरिवेष्ठित भएर बस्नु पर्दैन, यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर हामीले मौका पाउने बित्तिकै चीनसँग यातायात तथा पारवहन सन्धि गर्यौं,’ प्रधानमन्त्रीले भने।

जुन कदम नेपाललाई नयाँ उचाईमा पुर्याउने काम भएको बताए।

आफूहरुले सच्याएर नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक रुप दिएको बताए।

‘तपाईहरुले सुन्नुभएको हुनुपर्छ, हप्ता १५ दिन भित्र प्रधानमन्त्री परिवर्तन गरिँदैछ भनेर, भारतका मिडिया सुन्नुभएको होला,’ उनले भने, ‘भारतका बौद्धिक बहस सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ।’

प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमा चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको सम्झाए।

‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। यहाँहरुलाई सम्झना होला चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको थियो, किनभने हामीसँग बहुमत थिएन,’ उनले भने।

नक्सा जारी गरेको र त्यसलाई संविधान संशोधन गरेको कामलाई ठूलो अपराध गरेकोरुपमा प्रस्तुत गर्दै त्यस्तो गर्ने केपी ओलीलाई राख्न हुन्न भनेर सबै लागि परेको उनले बताए। नेपाल खबरबाट