कृषकलाई उपहास नगरौं 

अरु जे खाएर पनि धित नमर्ने तर एक गाँस भएपनि भात खानै पर्ने आम नेपाली परम्परा नै त हो । हिजो आफुलाई धेरै भएर निर्यात गर्ने गरिन्थ्यो आजका समयमा वार्षिक २५ अर्व जतिको आयात गरिन्छ । त्यो पनि खेत नभएर हैन खेती गर्न छाडेर नै त हो । चैते धान लगाउने खेतहरु आज भोली खाली हुने गरेका छन, कति प्लटिङ्गका नामा वालुवा थुप्रिएका छन भने कति क्षेत्रहरु तुलनात्मक लाभ भन्दै नगदे वालीले ढाकेका छन । आखिर भात खानु हो जे भएपनि भात त खाइएकै छ ।
नेपालमा विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको भएपनि सामाजिक संजालको प्रयोग सवैको पहुँचमा नभएका समयमा खासै महत्व थिएन तर जव सामाजिक संजाल सवैको पहुँचमा हुन थाल्यो असार १५ विभिन्न दृश्यमा देखिन थालेको छ । कृषि मन्त्रीको रोपाइँ जात्रा देखि गमलामा धान रोपिएका सवै दृश्यहरु वजारमा आए । तर पनि धानको उत्पादनमा वृद्धी र चामलको आयातमा कटौती हुन सकेन वरु वढेको वढ्यै नै गर्यो ।
किनेर चामल भित्राउने हरुका लागि धानको महत्व नहुन सक्छ तर आम कृषकका लागि यो जीवन धारा नै हो । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइने भएका कारण आम मानिसका लागि यसले महत्व राख्दछ । विरामी पर्दाका वखतमा समेत चिकित्सकले जाउलो सिफारिस गरेवाट नै यसको महत्व वुझन सकिन्छ ।
धान जीवन नै भएपनि नेपालमा यसको खेती गर्ने कृषकहरुको भने जीवन अत्यास लाग्दो नै छ । करिव ४ महिना समय खर्चेर उत्पादन हुने धान नै आज पनि कृषकका लागि अन्य वस्तु किन्ने श्रोत हो । कृषकले आफुले फलाएको धान विक्री गरेर आफना बालबालिकाको शिक्षा देखि दैनन्दिन आवश्यकताका वस्तु खरिद गर्ने धानको मुल्य भुसको भन्दा पनि सस्तो हुने वेला मौकामा समाचार हरु वन्ने गरेका छन । विशेष गरि चैतमा रोपेर असारमा भित्राउने वर्षे धानको मुल्य भुसको भन्दा पनि सस्तो हुने पाइन्छ ।
मल विउ र सिंचाइ अर्को महत्वपुर्ण पक्ष छ जसले धान वालीको उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दछ । रसायनिक मल नपाइने समस्याले वर्षेनी कृषकहरु पिरोलिएको समाचार वर्षेनी वनेको छ ।देश भित्र वर्णशकंर जातको विउ उत्पादन नहुने भएका कारण कृषकहरु भारत , चिन जस्ता छिमेकी देशमा भर परेका छन तर बाला लाग्ने वेलामा निरास हुने अवस्था छदैछ । गत वर्ष गरिमा भन्ने जातको धानमा बाला नलागेको सुनिएकै हो । सिंचाइ त आकासको भरमा हो ।
वेला मौकामा देखिने धानको महाब्याधी कृषकको अर्को समस्या वन्छ । गत वर्ष फौजी किराको प्रकोप झापा गाउँपालिक तिर देखियो भने ,प्राय सवै ठाउँमा फडके किराको प्रकोपप देखियो । फडकेका कारण वाला लागेर सुकेको धानको वोटमा नै कृषकहरुले आगो लगाइ दिए । ४ महिन सम्मको लगातार मेहनत फडकेले स्वाहा वनायो । हाम्रो कृषि सम्वद्ध अधिकारीहरु फडके किराले वाली सकेपछी देखा परे ।
धान दिवश आफैमा नराम्रो हैन । धान खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्य र धानको उत्पादन वढाएर खाद्ध सुरक्षा गर्नका लागि आयोजना गरिएको यो धान दिवश कृषकले अपनत्व लिन नसकेको भने पक्कै हो । ३६४ दिन वेवास्ता गर्ने र एक दिन उनीहरु सँगै हिलो खेतमा विताउने परम्परामा मात्र सिमित हुन पुग्नु धेरै नै दुखद छ । कृषकका समस्यालाई वेवास्ता गरेर , विउ ,मल, सिंचाइ जस्ता विषयमा ध्यान नदिने , रोग लागेको अवस्थामा प्राविधिक टोली गठन गर्दागर्दे नै समय वित्ने अवस्था कृषकको तर्फवाट अनुभुति नगर्ने वरु दिवशमा मात्र रम्ने कार्य धान खेतीमा लागेका कृषकहरुको उपहास मात्र हो भन्दा फरक नपर्ला ।
खेती गरेपनि नगरेपनि , देशमै किने पनि अथवा आयात नै गरेपनि आखिर हामी भात नै खाने भएकाले कृषक हाम्रा लागि अन्न दाता नै हुन । आफनै देशको चामल प्रयोगं गरिदिने हो भने कृषकहरुले आज भन्दा वढी मुल्य प्राप्त गर्ने नै छन । नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा आश्रीत ६०.४ प्रतिशत जनसंख्याको हितमा सानो नै मात्र भएपनि काम गर्न सकियो भने देशको कुल ग्राहस्थ उत्पादनमा नै योगदान हुनेछ ।