भारत हिँडेका नेपाली मालवाहक ट्रकलाई मेची पुलमै अवरोध

झापा । पश्चिमबंगाल सरकारको अवरोधका कारण नेपालबाट झापाको काँकडभिट्टा नाका हुँदै भारततर्फ हुने निकासी ठप्प भएको छ ।

कोरोना महामारीको कारण देखाउँदै मेची भन्सार भएर हुने नेपाली उत्पादनको निकासीमा पश्चिम बंगाल सरकारले अवरोध गरेको हो । यही नाका भएर नेपाली कृषि उत्पादन बंगलादेशसम्म पुग्छ । तेस्रो देश पनि पठाइन्छ । भारतबाट भने निर्वाध रुपमा मालवाहक गाडी नेपालतर्फ आइरहेका छन् ।

मेची भन्सार कार्यालयबाट जाँचपास भई भारततर्फ निकासी गर्न लागिएको चिया, अम्लिसो र अलैंची बोकेका २४ वटा मालवाहक ट्रक सीमामै अलपत्र बनेका छन् । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले भन्सार प्रक्रिया पूरा गराई भारततर्फ लागेका मालवाहक ट्रकलाई नेपाल–भारत सिमानामा पर्ने मेची खोलामाथिको पुलमै भारतीय सुरक्षाकर्मीले अवरोध गरेको जानकारी दिएका छन् ।

“एउटा ट्रकलाई भने छाडि दिएछन्,” भन्सार प्रमुख विश्वकर्माले भने, “त्यो ट्रक बंगलादेशका लागि हिँडेको थियो ।” भन्सार जाँचपास भई सहज रुपमा भारत जान पाउनु पर्ने माल रोकिएको विषयमा नेपाल सरकारलाई जानकारी गराएको उनले बताए ।

चैत ११ बाट लकडाउन सुरु भएपछि चैत २६ गतेबाट कोरोनाका कारण बंगाल सरकारले नाका बन्द गरिदिएको थियो । यो क्रम बैशाख २६ गतेसम्म रहन गयो । उताबाट केही सामान आएन ।

राजस्व पनि ठप्प भयो । भन्सार प्रमुख विश्वकर्मा भन्छन्, “वैशाख २७ बाट नाका नाका खुलेको भनेर मौखिक जानकारी आयो । एकतर्फी खोलिदियो तर निकास पनि बन्द छ । उसकै खाली गाडी पनि पठाउन नपाउने नियम लगाएको छ ।”

पश्चिबंगाल हुँदै आएका भारतीय मालवबाहक गाडी पनि त्यही बाटो भएर फर्कन रोकेपछि विराटनगर र वीरगञ्जबाट भारत छिर्न थालेको विश्वकर्माले जनाए । पन्ध्र दिनअघि एउटा अलैंचीको गाडी भने भारततर्फ गएको थियो तर त्यसपछि फेरि रोकिएको छ ।

मेची भन्सार कार्यालले एक दिन दुई दिन गर्दा–गर्दै भारततर्फबाट कुनै जवाफ नआएपछि नेपाली व्यवसायीको दबाबका कारण बिहीबार गाडी पठाई दिएको थियो । तर, गएका पच्चीसमध्ये २४ वटा सीमामै रोकिए । ती सबै गाडी फेरि ब्याक गरेर नेपालतर्फको मेची पुलमा रोकेर राखिएको छ ।

मेची भन्सार प्रमुख विश्वकर्माले भने, “यसबारे भन्सार विभाग र वाणिज्य सचिव बैकुण्ठ अर्याललाई समेत जानकारी गराएको छु । यहाँको सुरक्षा निकाय तथा झापाका प्रमुख जिल्ला अधिकारीलाई पनि समस्याबारे जानकारी गराएको छु ।” विश्वकर्माका अनुसार मेचीपारि भारतको भन्सारमा रोक्ने भन्ने आदेश नभएको त्यहाँ पुगे क्लियर गरिदिने तर प्रहरीले पश्चिम बंगाल सरकारको आदेश भन्दै रोकेको बताएका छन् ।

यो नाका भएर अलैंची, अदुवा, चिराइतो, चियासहितका नगदे बाली निकासी हुन्छ । समस्याबारे झापाबाट प्रदेश १ मा कांग्रेसका सांसद ओमप्रकाश सरागवीले शुक्रबार प्रदेशसभा बैठकमा प्रश्‍न गर्दै भने, “भारतबाट सहज रुपमा मालसामान आउने तर भारत जान नपाउने कस्तो नियम हो यो ?,” उनले भारततर्फ नेपालबाट हुने निकासी खुला गराउन सरकारले तुरुन्त ध्यान दिनुपर्ने माग गरे ।