हरिशयनी एकादशीको धार्मिक कथा र महत्व

असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्मनाभ एकादशी ।
असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरूप एक शब्दमा ‘चतुर्मास्य’ भनिन्छ । चतुर्मासमा चार मासको समय–बोध हुन्छ र चतुर्मास्यले यस समयका क्रममा गरिएका सबै व्रत–पर्वको समग्र बोध हुन्छ ।
पौराणिक कथा
सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।
यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।
पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।
पूजा विधिः बिहान उठेर नुहाएर शरीर शुद्ध गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।