नेतृत्वलाई मिल्न दबाब दिँदै नेकपा केन्द्रीय सदस्यहरु धर्नामा

झापा । नेताहरुलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् ।
२० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्नामा बसेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।
‘पार्टीमा जुन प्रकारको बिग्रह देखियो, यो बिग्रह गर्नुपर्ने कारण नै छैन, त्यसैले नेताहरुलाई दबाब दिन धर्नामा बसेका हौं’ उनले भने ।
धर्नामा बसेका नेताहरुले कम्युनिस्ट पार्टी नीति प्रधान हो नेता प्रधान होइन, समस्याको समाधान पार्टी विधानभित्रैबाट खोज, पार्टी एकता बलियो बनाउ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

आज सांकेतिक हिसाबले कार्यक्रम गरेको र यसलाई निरन्तरता दिनुपर्ने देखिएको कोइरालाले बताए ।
‘हामीलाई मनमा लाग्यो, यसो गर्दा के हुन्छ भनेर जम्मा भएका हौं, तर देशव्यापी रुपमा एकताको पक्षमा माहोल नबनाई हुँदैन भन्ने लागेको छ, हामी सल्लाह गर्दैछौं’ उनले भने ।

स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको राजीनामा माग गरेपछि नेकपाभित्र विवाद बढेको छ । त्यसपछि स्थायी कमिटी बैठक पनि शनिबारसम्मका लागि स्थगित भएको छ ।