प्रदेश-१ मा एक सातामा ९ जनाको मृत्यु

झापा । मनशुन शुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरो लगायतका जोखिमका कारण वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।
मनसुनी बर्षाद्को समय प्रकोपका कारण धेरैको मृत्यु हुनेदेखि घाइते हुने, घर खेत बगाएर विस्थापित हुने समस्या यहाँका बासिन्दाले वर्षेनि झेल्दै आएका छन् । सरकारले प्रतिरक्षाका लागि तयारी शुरु गरेको बताए पनि कोरोना भाइरसको संक्रमणका कारण भन्दै यसपटक खासै तयारी गरेको पाइएको छैन् ।

यो वर्ष पनि ठाउँ-ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ । वर्षेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको ध्यान बेलैमा जान नसकेकोले जनधनको क्षति हुने गरेको छ । तर, सरकारले भने सँधै आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ । यसवर्ष पनि पालिकादेखि केन्द्रसम्मका विभिन्न निकायहरुले विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् ।

बाढीको उच्च जोखिम क्षेत्रको रुपमा रहेको झापामा पनि तयारी शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्ला विपद् व्यवस्थापनको बैठकले स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताए । उनले झापामा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको जानकारी दिए ।

यसैबीच प्रदेश १का १४ जिल्लामा एक सातामा ९ जनाको मृत्यु भएको छ । बर्खा लागेसंगै डुबेर तथा नदीमा हामफालेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । गत असार १० गते झापाको बाह्रदशी गाउँपालिका-६ कञ्चनवारीमा एक बर्षीया अनुसा टुडूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो । खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको थियो ।

उता असार १२ गते मोरङको बिराटनगर महानगरपालिका-१८ आईसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर ७ बर्षीय अंकुश मण्डलको मृत्यु भएको थियो । पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो ।

त्यस्तै असार १२ गते नै मोरङको रतुवामाई नगरपालिका-५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै चौपाया चराइरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी र खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

यता झापाको शिवसताक्षी नगरपालिका-८मा असार १३ गते ३ बर्षीय बालक संयमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । उता पूर्वी पहाडी जिल्ला ताप्लेजुङको श्रीजंघा-१ जौबारीका ७ बर्षीय रवीन दर्जीको असार १५ गते कुलोमा डुबेर मृत्यु भएको थियो ।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-२का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर असार १५ गते नै मृत्यु भएको थियो । मंगलबार असार १६ गते इलाम र उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-५का २५ बर्षीय हरिप्रसाद चापागाँई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।

उता उदयपुरको त्रियुगा नगरपालिका-१३का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । त्यस्तै थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरीगढी गाउँपालिका-२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।
वर्षा शुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा स-साना बालबालिका जमेको पानीमा डुबेर मृत्यु हुने क्रम बढ्ने भन्दै अभिभावक सचेत बन्नुपर्ने प्रहरीले जनाएको छ । त्यस्तै नदी तथा खोला किनारमा पानी आएको समयमा नजान पनि प्रहरीले आग्रह गरेको छ ।

२०७६ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा नेपालमा बाढी र पहिरोमा परेर एक सय ५६ जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए । पहिरोमा मात्रै ३४ जना पुरुष र ४९ जना महिला गरी ८३ जनाको मृत्यु भएको छ भने ११ जना हराइरहेका छन् । ११ सय ३२ वटा घर पूणर् रुपमा क्षति भएको छ भने १५ सय ८७ घर आंशिक रुपमा क्षति भएको वस्तीले बताए । त्यस्तै ७६ परिवार विस्थापित भएका छन् । यसका कारण ४० करोड १४ लाख ८६ हजार रुपैयाँको नोक्सानी भएको छ ।

यस्तै बाढीका कारण ५८ जना पुरुष र १५ जना महिला गरी ७३ जनाको मृत्यु भएको छ भने २७ जना हराइरहेका छन् । २ सय ४१ परिवार विस्थापित भएका छन् । १९ सय ७ घर आंशिक रुपमा क्षति भएको छ, ४ सय ५२ घर पूणर् रुपमा क्षति भएका छन् भने २१ जना घाइते भएका छन् । एक अर्ब ६ करोड ३४ लाख बाढीका कारण नोक्सानी भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र संकट निवारण तथा पुनर्लाभ व्यूरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३०औँ स्थानमा छ । तर, सबैखाले विपदबाट हुने जनधनको क्षतिमा बाढी पहिरोको हिस्सा झण्डै आधा छ । प्रमुख विपदका रुपमा देखिएको बाढी पहिरो निम्तिनुमा कमजोर भौगर्भिक अवस्था, विषम् भूबनोट, मौसमी विषम्ता, नदी, प्रकृतिभन्दा पनि मानव सिर्जित कारण प्रमुख भएको भूगर्भविद्हरुको भनाइ छ ।