कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरबाही भएको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यहि कारण कोरोना भाइरस जस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो ।

तर, सडकमा हेरौं वा शहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरु चहलपहल कम छैन । किनमेल गर्न वा अत्यावश्यक कामका लागि मात्र होइन, मान्छेहरु घरबाहिर निस्केर टहल्न वा रमाइलो गर्न पनि भिडमा मिसिदैछन् । न शारीरिक दूरी कायम गरिएको छ, न मास्क जस्ता सुरक्षात्मक विधी अपनाइएको छ । के अहिले हाम्रो मनोविज्ञान परिवर्तन भएको हो ? कोरोनाप्रतिको भय हटेको हो ? वा हामीमा आत्ममनोबल बढेको हो ?

अहिले जसरी मान्छेको भिड र घुलमिल बढ्दैछ, त्यसले केही कुरा संकेत गर्छ ।

१. मानौं, कोरोना भाइरस निर्मुल भइसक्यो वा यसको अब कुनै जोखिम छैन ।

२. मानौं, कोरोना भनेको तातो पानी पिएर, हाँच्छ्युँ-साच्छ्युँ गरेर उडाउन सकिन्छ ।

३. मानौं, हामीमा कोरोनाको भाइरस पचाउने क्षमता छ ।

४. मानौं, कोरोनाको संक्रमण भएपनि मरिदैन ।

भुसको आगो जस्तो भित्रभित्रै सल्कदैछ कोरोना

हिजोसम्म हामी सर्तक एवं सजग थियौं, कोरोनाको जोखिमप्रति । तर, अहिले हामी यसरी बद्लिदैछौं, मानौ कोरोनाको कुनै डर छैन । जबकी भुसको आगो जस्तै कोरोना भाइरस भित्र-भित्रै सल्किरहेको पाइन्छ ।

अहिले दिनहुँ सैयौं जना संक्रमित बढ्दैछन् । अझ परीक्षणको दायरा बढाउने हो भने यो संख्या बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । हालसम्म १५ हजार ४ सय बढी कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये ३४ जना संक्रमितको कोरोनाले ज्यान लिइसकेको छ । वैश्विक स्तरमा पनि कोरोना संक्रमण र मृत्यु दर बढ्दो छ ।

विश्वमा कोरोना भाइरसकै कारण पाँच लाखको मृत्यु भइसकेको छ । एक करोड १२ लाख बढी कोरोना संक्रमित छन् ।

अब कोरोनाको डर छैन ?

कोरोना भाइरसको संक्रमण घट्दो क्रममा वा नियन्त्रित अवस्थामा छैन । कोरोना संक्रमण पूणर्त नियन्त्रणमा आइसकेका भनिएका कतिपय मुलुकमा पुनः यसको संक्रमण फैलिएको छ । कोरोनाको केन्द्रविन्दु भनिएको चीनको वुहानमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण भेटिएका छन् ।

त्यती मात्र होइन, कोरोना संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः यसको संक्रमण देखिएको छ । नेपालमै पनि यस्तो घटना दोहोरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस बिरुद्ध शरीरमा जुन एन्टीबडी निर्माण भएको छ, त्यसले लामो समय वा आजीवन काम गरेको पाइदैन । कोरोना भाइरस बिरुद्ध शरीरमा बनेको एन्टीबडीको असर दुई(तीन महिनामै सकिएको विभिन्न अध्ययनबाट थाहा भएको छ । यस हिसाबले पटक पटक कोरोना संक्रमणको जोखिम कायमै छ ।

भर्खरैमात्र अर्को डरलाग्दो तथ्य बाहिर आएको छ, काठमाडौंको ढलमा कोरोना भाइरस फेला परेको । उपत्यका भित्रको ४ स्थानको ढलको नमुना परीक्षण गरिएकोमा दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको हो । यसको निचोड के भने, उपत्याकामा समुदायमा भित्रभित्रै कोरोना संक्रमण फैलिइसकेको छ ।

हामीकहाँ कोरोना परीक्षणको दायरा एकदमै साँघुरो छ । सबैतिर यसको पहुँच पुर्‍याइएको छैन । यही कारण पनि कोरोना संक्रमित जुन रुपमा बढ्दो छ, त्यस अनुसार बाहिर नतिजा आएन सकेको छैन ।

लकडाउन भएसँगै भारतबाट लाखौं मजदुर स्वदेश भित्रिएका छन् । शहरका मान्छेहरु गाउँ-गाउँ पुगेका छन् । कतिपय विदेशमा रहेकाहरु पनि घर फर्किएका छन् । यसबाट पनि के शंसय पैदा हुन्छ भने, कतै भित्र भित्रै कोरोना भाइरस फैलिरहेको त छैन ?

जो अगुवा उही बाटो हगुवा

नेपाली समाजमा प्रचलित एउटा उखान छ, ‘जो अगुवा, उही बाटो हगुवा ।’ हामीकहाँ अहिले यस्तै परिदृश्य देखिन्छ । केही समयअघि मात्र एउटा तस्विर सार्वजनिक भयो, मुलुकका शीर्ष नेताहरु मुखमा मुख जोडेर गफिइरहेका ।

उनीहरुले नै नीति-निर्माण तहमा रहेर मुलुकलाई कोरोनाको संभावित जोखिमबाट बचाउन लकडाउन गर्नुपर्छ भनेका हुन् । उनीहरुकै कुरा शिरोपर गर्दै सर्वसाधरण घरभित्र थुनिएका छन् । तर, नेताहरु भने मुखमा मुख जोडेर भिड, भेला गरिरहेका छन् । उनीहरु स्वयम् कोरोनाको जोखिप्रति सचेत र सर्तक नभएका हुन् वा कोरानाले केही गर्दैन भन्ने मनोबल बढाएका ?

कोरोना भाइरस अरु घातक भएमा ?

कोरोना जस्तो भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्छ र यो अरु घातक बन्ने खतरा हुन्छ । केही समयअघि वैज्ञानिकहरुले ६२ वटा देशबाटत कोरोना भाइरसका ५३ सय भन्दा बढी संक्रमितको जिनोमको विश्लेष गर्दा के पाए भने, कोराना भाइरसका केही उप प्रजातिहरु आफुलाई परिवर्तन गरी मानव शरीरमा विस्तार हुने उपक्रममा छ । उक्त अध्ययन अनुसार अधिकांश भाइरस स्थिर रहेपनि केहस् उपप्रजातिहरुले आफुलाई परिवर्तन गरी मानव शरीरमा अनुकुलित भएको देखिन्छ ।

यस्ता भाइरसहरुले मानव शरीरभित्रै आफ्नो स्वरुप परिवर्तन गरेर थप घातक बन्न सक्छ । हामीकहाँ अहिलेको अवस्थामा जसरी कोरोना भाइरसको संक्रमण बढ्दैछ, त्यही अनुरुप भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दै अरु घातक भएमा के होला ? कोरोना भाइरसको संक्रमण अरु भयावह र जटिल भए के होला ?

हाम्रो जस्तो कमजोर चिकित्सा प्रणाली र पहुँच भएको मुलुकमा यसले भयानक संकट निम्याउने खतरा रहन्छ । त्यसैले भोलिको संभावित खतरालाई मध्यनजर गरेर पनि आज हामीले थप सर्तकता अपनाउनुपर्ने हो । तर, हामी त अरु लापरवाही भइरहेका छौं । हामीकहाँ कोरोना नियन्त्रण आएको छैन, बरु अरु तिब्र रुपमा बढ्दैछ । यस्तो अवस्थामा कोरोनाले शरीरभित्रै आफ्नो स्वरुप बदलेर अरु घातक बन्ने जोखिम छँदैछ । तर, अहिले हामी यसरी लापरवाही गर्दैछौं, मानौं कोरोनालाई हाँच्छ्यु-साच्छ्युँ गरेर, तातो पानी पिएर सजिलै उडाइदिन सकिन्छ । अनलाइन खबरबाट