झापामा बाढीमा परेर मृत्यु भएका प्रति परिवारलाई १ लाख राहत

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निणर्य गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निणर्य गरेको हो ।
बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका-२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका-६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी-८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका- ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका- ५ का राजेश गणेशको मृत्यु भएको थियो ।
उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार रु एक लाखको दरले राहत दिइने व्यवस्था छ ।