नेतृत्व परिवर्तन होइन, पार्टीको काम कारवाही र पद्धतिको विषयमा बहस फर्काउन प्रचन्डलाई सुझाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका स्थायी समिति सदस्यले अहिले नेतृत्वमा देखिएको संघर्षको घर्षणले पार्टी विभाजन हुनसक्ने भएकाले रोक्न सुझाव दिएका छन् ।

स्थायी समितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा भन्दा पनि सरकारको काम कारबाही र कमजोरी, पार्टीको पद्दती र विधिका विषयको बहसमा फर्काउन प्रचण्डलाई सुझाव दिइएको स्रोतले जनायो ।

अर्ली महाधिवेशनका विषयमा ओलीले राखेको प्रस्तावबारे प्रचण्डले पूर्वमाओवादी सम्बद्ध स्थायी समिति सदस्यलाई सुनाएका थिए । कतिपयले तत्काल पार्टी विभाजन हुने अवस्था आउन नदिनका लागि सहमतिको खास विन्दु पहिल्याउन सुझाव दिएका थिए ।

प्रचण्डले ओलीसँगको सम्बन्धलाई संघर्ष र एकताको हिसाबमा नै अगाडि बढाउने भएका छन् । तत्कालका लागि सहमति खोजी प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामालाई मूल मुद्दा नबनाउने, सरकारको कमजोरीका विषयमा बहस चलाउने तयारीमा प्रचण्ड जुटेका छन् ।
साझा मञ्चबाट