बिर्तामोडमा पुष्पलालको सम्झना, अस्थिरता विरुद्ध खुलेर आलोचना

 

बिर्तामोड, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । उनी नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता हुन् ।
बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा आज देशभर विभिन्न कार्यक्रम गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ । पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रद्धाञ्जली वक्तब्य जारी गर्दै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनमा पुष्पलालको योगदान रहेको बताएका छन् ।
यस्तै, पुष्पलाल मित्रता केन्द्र झापाले पनि आज बिर्तामोडमा विचार गोष्ठीमार्फत् उनको योगदानको स्मरण गरेको छ ।
केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा सबैजसो वक्ताहरुले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए । प्रत्युस रानाले स्वागत गरेको कार्यक्रममा नेकपा नेताहरु डिल्ली घिमिरे, राजु आचार्य, मोहन टुडु, लोकबहादुर धिमाललगायतले विचार राखेका थिए ।

टुक्राटुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित हर्कत गरिरहेको टिप्पणी गरेका छन् । बल्ल बल्ल एकीकृत हुँदै गरेको पार्टीलाई थप मजबुत बनाउनु र पार्टी जोगाउनुको विकल्प छैन भन्दै वक्ताहरुले गैर राजनीतिक हर्कतका विरुद्ध तमाम पार्टी कार्यकर्ताहरु नेतृत्वका विरुद्ध निर्मम बन्नुपर्ने अवस्था आएको धारणा राखेका थिए ।
पुष्पलाल मित्रता केन्द्रका झापासहित ३५ जिल्लामा शाखा विस्तार गरिएको छ भने पाँचवटा प्रदेश कमिटी बनाइएको छ ।