प्रचण्ड कमरेडको अग्नि परीक्षा

 

बाम गठबन्धनको निरन्तरता रह्यो भने उसले गरेका चुनावी वाचा मध्ये थोरै मात्र पनि देखिने काम भए भने अरु दुईचार वटा चुनाव पनि कांग्रेसका लागि हार मात्र हात लाग्ने अवस्था नहोला भन्न सकिन्न । (प्रा.कृष्ण खनाल, चुनावपछिको कांग्रेस,कान्तिपुर २३ पुस,२०७४ )
पार्टी एकता भएर संसारकै तेस्रो ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी बन्नु र यसले आम निर्वाचन मार्फत् लोकप्रिय मतबाट दुईतिहाईको बाम सरकार बनेदेखि देशी र विदेशी प्रतिक्रियावादी कित्तामा हडकम्प मच्चिएको यथार्थ प्रा. कृष्ण खनालको उपर्युक्त लेखबाट अवगत हुन्छ ।

खनालले विगत सरकारका तुलनामा केही मात्र सकारात्मक काम गरेर जनतालाई प्रभावित पार्‍यो भने बाम सरकारले दुईचार वटा चुनाव अर्थात् २० वर्ष शासन गर्न सक्ने यथार्थ सत्य कुरा गरेका थिए ।
यस्तो अवस्थामा पार्टी स्थायी समितिमा प्रायोजित विवाद झिकेर दुनियाँ हँसाउनु किमार्थ जाती होइन । ओलीलाई राजिनामा गराउने विषयमा स्थायी समितिमा प्रचण्ड कमरेडलाई नै पहिले बोल्न लगाएर उहाँलाई विवादको भँुमरीमा फसाउन खोजेको उतिबेलै यस लेखकलाई लागेको हो ।
माओका अनुसार शत्रुहरुले हाम्रो प्रशंसा गरेको भन्दा विरोध गरेको कुराबाट हामी ठीक छौँ भनेर बुुझेहुन्छ भनेझैँ नेकपा र यसले नेतृत्व गरेको सरकारलाई देशी विदेशी प्रतिक्रियावादीको विरोधबाट आत्तिनु पर्ने देखिँदैन तर पार्टीको स्थायी समितिबाट नै शत्रुवत् आक्रमण गर्नु सन्देहको विषय हो ।
पहिले पनि त्यस बेलाको शक्तिशाली पार्टी पूर्व एमालेलाई विभाजन गर्न निक्कै ठूलो धनराशि लगानी गरेको नेपाली काङ्ग्रेसका नेता स्वं.खुमबहादुर खड्का मार्फत् खुलस्त भएकै हो ।

त्यसैले अध्यक्ष प्रचण्डले भनेर्झैँ आफूले धैर्य गरेर पार्टीलाई फुट्नबाट जोगाएको भनेको र यस बीचमा दुवै अध्यक्षका बीच भएको गम्भीर वार्ताले सकारात्मक परिणामको संकेत गरेको स्पष्ट भएकै छ । यस्तो प्रभाव देखेपछि पार्टीलाई चिरा पार्न उद्यत देशी विदेशी शक्ति र समूह बौखलाएको तिनका गुप्तगु कोटरी बैठकबाट अवगत भएको छ ।
यसै बीचमा प्रचण्ड कमरेडको बोलीमा परिवर्तन आउनु एउटा दूरदर्शी नेताका लागि दुर्भाग्यको विषय हो । यसले नेतृत्वको उचाइ स्वात्तै घटाउन सक्छ ।
त्यसैले यस खालको संगीन तथा सङ्कटापन्न अवस्थामा पार्टी अध्यक्ष प्रचण्डमाथि अत्यन्त गुरुतर तथा गम्भीर जिम्मेदारी आइपरेको देखिन्छ । यसबेला ऐतिहासिक चुनौतिका सामु प्रचण्ड खडा हुनु भएको देखिन्छ । अहिले वहाँ अग्नि परीक्षामा हुनुहुन्छ ।
माओले विशिष्ट परिस्थिति एकपल्ट मात्र आउँछ,त्यसबेला हामीले मौका चुकाएनौ भने हाम्रो विजय निश्चित हुनेछ भनेको कुरालाई बहुतै ख्याल गर्न यो लेखक प्रचण्डसित आग्रह गर्दछ ।
फेरि पनि माओले तिमी सित साहस छ भने तिमी सित रहेका सबै वस्तु हतियार बन्ने छन् भनेझैँ पार्टी एकता जोगाउन प्रचण्ड कमरेडले साहस गर्नुपर्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनका सन्दर्भमा हेर्ने हो भने धेरै अनुकूल विशिष्ट स्थितिलाई नेताहरुको दूरदर्शिताका अभावमा गुमेर देश र जनताले दुःख पाएको इतिहासबाट अवगत हुन्छ ।
पुष्पलालले लिएको संयुक्त जन आन्दोलनको नीति बेलैमा बुझेर तदनुसार पार्टीहरु क्रियाशील भएको भए तीस वर्ष नेकपा पछि पर्ने थिएन ।
२०४६ सालको आन्दोलनको पूर्व घडीमा गठित बाम मोर्चामा नेपालका सबै कम्युनिष्ट समूहहरु एकताबद्ध भएका भए त्यति बेला नै कम्युनिष्टहरुको शक्ति सशक्त हुने थियो र यसले अरु सकारात्मक परिणाम ल्याउँथ्यो ।
यसरी कम्युनिष्टहरुका बीच कार्यगत एकता मात्र भएको भए त्यति बेला नौमहिने अल्पमतको होइन बहुतकै सरकार पनि बन्न सक्थ्यो ।
संसारबाट कम्युनिष्ट आन्दोलन पलायन भई समाप्त प्राय भएका बेला जननेता मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवादको प्रतिपादन गरकाले नेपालमा कम्युनिष्ट आन्दोलनको बिउ जोगिएको र जागेको हो ।
तर यही कुरा पनि हामीले सशस्त्र संघर्षमा रगत खोलो बगाएर मात्र बुझ्न सक्यौँ । अर्थात् हामीलाई माक्र्सवादी शिक्षा र यसको सिर्जनात्मक प्रयोग सिक्न नै दिव्य बाह्र वर्ष लाग्दो रहेछ ।
आखिर पार्टी एकता गर्नु नै थियो भने बेलैमा एकता गर्ने नेतामा सुझबुझ पलाएको भए नजाती त हुने थिएन ।
अब बल्लबल्ल पार्टी एकता भएको छ अनि यसलाई ससाना छिद्र खोज्दै , अनेक कृत्रिम निहुँ र बखेडा झिकेर कसको स्वार्थमा पार्टी फुटाउन किन खोजिएको हो ?
दूरदर्शी तथा प्रभावशाली नेताले बृहत् तथा बृहत्तर उद्देश्य राखेर काम गर्नुपर्छ । यो बेला कमरेड प्रचण्डको काँधमाथि महानतम जिम्मेवारी आइपरेको छ । बेलाको बोली मौकाको कामले नै नेतृत्वको उचाइ बढ्छ ।

यसरी काम गर्दा नेताका पनि कतिपय कमजोरी बिलाउँछन्, ओझेल पर्छन् । दागी चन्द्रमा यसै
प्रशंसित भएको होइन ।

पार्टी एकता गर्दा पनि हामीले जनताको जनवाद भनेका छौँ तर पेटबोलीमा जबजका मान्यता हुबहु उल्लेख गरेका छौँ तर पनि हामीलाई अनेक आग्रहका कारण जबज नाम दिन अप्ठ्यारो लागि रहेको छ ।
यस खालका आग्रहका सिकार स्वयं कार्लमाक्र्स नै पर्नु भएको थियो । महान् एङ्गेल्स लगायतले माक्र्सवादलाई बेलैमा बुझेर काँध नहालेका भए यो वादको उत्थान र विकासमा धेरै समस्या आउँथ्यो ।
जबजले समाजवादी चरण सम्म दिशा निर्देश गरेको छ । यसले चीन र भारतको भन्दा पृथक समाजवादको परिकल्पना गरेको देखिन्छ । जबजले आर्थिक र राजनैतिक अधिकार सहितको प्रतिस्पर्धात्मक नेपाली मौलिक समाजवादको अन्तर्य स्पष्ट पारेको छ तर गुण र गुणी जनको कदर गर्न किन सकस परिरहेको हो ?
माओवादी पार्टीको सशस्त्र संघर्षको (हुनत तत्कालीन माओवादी सशस्त्र संघर्षका सम्बन्धमा यस लेखकको धेरै असहमति रहेको थियो र छ ) नेतृत्व गरेर यसलाई शान्तिपूणर् अवतरण गराउन सफल प्रचण्डले पार्टी एकताका सबालमा पनि अहं भूमिका निर्वाह गर्नु भएकै हो । अब यस एकतालाई अक्षुण्ण राखी एकता महाधिवेशन गराउने गुरुतर जिम्मेदारी अध्यक्ष प्रचण्डमाथि आइपरेको छ ।
अहिले संगीन अवस्थालाई प्रचण्डले समझदारीका साथ पूरा गर्ने प्रण गर्नु देश र जनताका लागि हितकर रहेको देखिन्छ ।
यसै पनि पार्टीको एकता महाधिवेशन अघि सम्म विधानतः मूलतः दुई अध्यक्षको सहमतिबाट पार्टी र सरकार सञ्चालन गर्ने कुरा हो । यो विशेष परिस्थितिको उपज हो ।
यसमा कुनै अध्यक्ष असहमत हुने बित्तिकै पार्टी एकता टुट्नु निश्चित हुन्छ । त्यसैले सरकार र पार्टीका काममा समस्या भए तिनको निराकरण मूलतः दुवै अध्यक्षले समझदारी कायम गर्ने हो ।

एकता अहिले स्थायी समितिमा उत्पन्न प्रायोजित विवादलाई एकीकृत संक्रमण कालीन यस अवस्थामा निर्माण भएको ओली सरकारलाई विशेष गरेर पूर्व एमाले वृत्तका चरम अवसरवादी तप्काका उपल्ला तहका एकाध नेताले सुरुदेखि नै असफल पार्ने कलुषित मनसाय राखेर संगठित रुपमा काम गरेको यस लेखकलाई थाहा छ ।
पद, पैसा र प्रतिष्ठा पाउँदा प्रधानमन्त्री ओलीको आरती उतार्ने र नपाउने बित्तिकै धारे हात लगाएर सराप्ने पूर्व एमालेका कतिपय नेताबारे यो लेखक जानकार छ । तिनले भविष्य होइन भात मात्र हेरेको देखिन्छ ।
पार्टी अध्यक्ष प्रधानमन्त्रीको ओलीको फाउ जिन्दगीको देश र जनताका लागि कति भाउ रहेछ भन्न्ो आम जनता र कार्यकर्ताले तुलना गरेर तथ्यगत रुपमा बुझ्ने मौका पाए ।
अहिले पार्टीले मेची महाकाली अभियानमार्फत् जनता र कार्यकर्र्ता भेला गरेर सरकारका कामहरु सुसूचित गराउने हो भने कतिपय अवसरवादी नेताहरुको ओठमुख सुक्ने थियो । तर यस्तो अभियान तिनले मरे मान्ने छैनन् ।
ओली कम्युनिष्ट आन्दोलनको सुदूर भविष्य सुरक्षित राख्ने मनसायका साथ लागि परेको देखिन्छ । उहाँकै भनाइ अनुसार उहाँलाई भोलिका दिनमा न अध्यक्ष न प्रधानमन्त्री दुवै चाहना छैन । उहाँले आफ्नो बाँकी जीवन नितान्त आफ्नो र आफन्तको स्वार्थका लागि नभएर भावी सन्ततिका लागि समर्पित गर्न चाहेको देखिन्छ ।
पार्टी यदि कथंकदाचित् फुट्यो भने यसको अपजस ओलीलाई किमार्थ जानेवाला छैन । आफ्ना नामको निजी सम्पत्ति समेत ट्रस्टमा जिम्मा लगाउने ओलीलाई व्यक्तिगत र पारिवारिक रुपमा पार्टी र सरकारबाट केही लिनु छैन र देखिँदैन ।
बरु ओलीको राजनैतिक र राजकीय नेतृत्वका सकारात्मक परिणामहरु देश व्यापी रुपमा जनताले महसुस गरेका छन् । तुहिन विस्थापित गरेका क्षेत्रका जनता ओली सरकारको प्रशंसा नै गरिरहेका छन् । यसरी जुनजुन क्षेत्रमा सरकारले देश र जनताको हितका लागि विकास निर्माणका कामहरु गरेको छ तिनलाई मात्र पार्टीले एकमुख भएर उजागर गर्ने हो भने त्यसले नै आगामी दिनमा पार्टीको दुगुना प्रभाव बढ्ने निश्चित देखिन्छ ।
यस खालका सकारात्मक कामको प्रचार फाउ जीवन बाँचिरहेका ओलीका लागि होइन भोलिका लागि हो भन्ने कुरा बेलैमा बुझ्न जरुरी छ ।
विश्वबाट कम्युनिष्टहरु पलायन भइरहेको परिप्रेक्षमा र अझ भारतमा नै कम्युनिष्ट आन्दोलन धराशायी भएका अवस्थामा नेपालमा भने यस खालको बाम उचाइ प्रतिक्रियावादी कित्तामा होस उडाउने विषय हो ।
प्रधानमन्त्री ओलीका केही कमजोरी भए तिनलाई उपचार गर्ने नीति,विधि र पद्धति सबै परित्याग गरेर दुवै पदबाट राजिनामा गराउन खोज्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
यस्तो आत्मघाती क्रियाकलाप समाप्त पारी अग्रगमन गर्ने चुनौति प्रचण्डको सामु आएको छ । यस अग्नि परीक्षामा उहाँलाई खरो उत्रने घडी आएको देखिन्छ ।