चम्किदै मोटरसाइकल र स्कुटरको बजार

काठमाडौ / काभ्रेका श्रीराम चौलागाई ज्ञानेश्वरस्थित होण्डाको शोरुममा भेटिए। सवारी साधनको खासै शाैख नभएका उनले लकडाउनमा सवारी साधनको आवस्यकता महसुस गरे।

‘पहिले त मेरो दैनिक काममा सार्वजनिक यातायात नै प्रयोग गर्थे। तर, लकडाउनको अवधिमा भने निजी सवारी साधनको आवस्यकता खड्कियो त्यही भएर स्कुटर किन्ने सोच बनाए,’ उनले सेतोपाटीसगँ भने।

लकडाउनले निजी सवारी साधन आवागमनको स्वतन्त्रता भन्ने बुझाएको चौलागाईको बुझाई छ।

‘पहिले म हप्ताहप्तामै घर पुग्थे। अहिले ४ महिनादेखि घर गएको छैन। गाडी चल्यो भने पनि धेरै मानिससगँ यात्रा गर्न जोखिम नै छ,’ उनले सेतोपाटीसगँ भने।

बजारको यही मागलाई आकलन गर्दै विभिन्न सवारीसाधन आयातकर्ता कम्पनीहरुले विभिन्न प्रकारका स्किम पनि ल्याएका छन्।

लकडाउन पछि मोटरसाइकल र स्कुटरका नयाँ ग्राहकहरु अप्रत्यासित रुपमा बढेको टिभिएसका मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवाल बताउँछन्।

तीन महिनादेखि सेल्स रोकिएकोले सेल्स बढ्छ भन्ने नै लागेको थियो तर रेमिट्यान्समा गिरावट, तलब कट्टी, जागिर नै कट्टीको घटनाले हामी ससंकित पनि थियौ त्यस कारण पनि हामीले स्किम ल्याएका हौ,’ उनले सेतोपाटीसगँ भने।

हाल टिभिएसको मात्रै ३० देखि ४० प्रतिशत सेल्स बढेको अग्रवालको दावी छ।

‘रोकिएर बसेका ग्राहक सकिएपछि सेल्स ग्रोथ कम हुन्थ्यो भन्ने आकलन थियो। तर सेल्सको ग्रोथ रोकिएको छैन,’ उनले भने।

लकडाउन खुलेपछि पनि मान्छेहरु सार्वजनिक यातायातमा चढ्न डराइरहेको कारण दुइपांग्रे सावारीसाधनको सेल्स बढेको उनको आकलन छ।

लकडाउनपछि होण्डाको मोटरसाइकल र स्कुटरको सेल्समा ५० प्रतिशत ग्रोथ भएको होण्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालीमा महाप्रवन्धक सोहन श्रेष्ठले जानकारी दिए।

‘कोरोना भाइरसको महामारीले दुईपांग्रे सवारी साधन नेपालीको अभिन्न अंग हो भन्ने प्रमाणित गरिसकेको छ। सवारी साधन हुनेले निर्धक्क आफ्नो काममा जान पाए, नहुनेले सार्वजनिक यातायात खुल्ला भनेर पर्खनुको विकल्प भएन,’ श्रेष्ठले सेतोपाटीसँग भने।

लकडाउनपछि सेल्सलाई नराम्रो भन्न नमिल्ने एचएच बजाजकी महाप्रवन्धक पुनम सिंहले जानकारी दिइन्।

‘लकडाउनपछि जुन प्रकारले मार्केट बुम हुन्छ भन्ने सोचेका थियौं त्योअनुसार नभएपनि सेल्स चित्त बुझ्दो नै छ,’ उनले भनिन्।
अहिलेको सेल्सलाई हेरेर बजारको विश्लेषण गर्न नसकिने उनले बताइन्।

‘अगाडिको ३ महिना सेल्स रोकिएको कारण यो अवस्थामा १ महिनाको सेल्स हेरेर हामी बोल्न मिल्दैन। मोटरसाइकल खरिद गर्न सामान्यतया ग्राहकले नयाँ वर्ष वा दशैं पर्खनुहुन्छ। नयाँ वर्ष अघिदेखि मोटरसाइकल खरिद गर्न खोजेका ग्राहकको कारण पनि सबैको सेल्स बढेको जस्तो देखिएको हो,’ उनले भनिन्।

सेतोपाटी