गाडीको साटो पीसीआर मेसिन किन्न प्रदेश सरकारलाई कांग्रेसको सुझाव

 

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकारसमक्ष माग गरेको छ ।

विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदासमेत परीक्षणको दरलाई तीव्र नबनाएको भन्दै महानगरका का.वा. सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउँदै स्थानीय तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् ।

न्यौपानेले भने, “लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका मन्त्रालयले करोडौं मूल्य पर्ने गाडी खरिद गरेका छन् । बरु त्यो रकमले किन पीसीआर मेसिन र भीटीएम खरिद नगर्ने ?” कोरोना नियन्त्रण तथा रोकथामका लागि एकीकृत प्रयास जरुरी भएको भन्दै स्थानीय र प्रदेश सरकारबीच देखिएको समन्वय अभावलाई समेत हटाउन सुझाव दिए ।

कांग्रेस महानगर समितिका तर्फबाट यसअघि न्यौपानेले सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको कामबारे जानकारी दिन आयोजित कार्यक्रममा पहिचान गरिएका प्रदेशका जोखिम क्षेत्रमा परीक्षण, रोकथाम र उपचारमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।