पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ जना रहेका छन् ।

हाल अहिले क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा कास्कीका एक जना पुरुष, पर्साका एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो।