श्रीकृष्ण : एक अद्भूत पात्र

 

कृष्णलाई अनेक मानिसले अनेक तरिकाले बुझेका छन् । इतिहासको केवल एक पात्र वा महाभारत महाकाव्यको एक पात्रका रुपमा मात्रै कृष्णलाई हेर्ने हो भने पनि कृष्ण एक अद्भूत क्षमता भएका शक्तिशाली पात्र हुन् ।

उनको जन्मदेखि महापरिनिर्वाण (देहत्याग)सम्मका जीवनका घटना दुःखले भरिपूणर्छन् । तर, पनि कृष्ण सदा शान्त र आनन्दित छन् । एक बालकका रुपमा होस् या एक प्रेमीका रुपमा होस् अथवा राजनीतिज्ञ (शासनको मूल नीति सम्हाल्ने व्यक्ति) का रुपमा होस्, हरेक भूमिकामा कृष्णले व्यक्तिलाई आध्यात्मसँग जोड्न खोजिरहेका छन् । सांसारिक मोह, माया र भ्रमबाट हरेक पात्रलाई मुक्त गराउन खोजेका छन् ।कृष्ण राजनीतिक प्रक्रिया र आध्यात्मिक प्रक्रियालाई जोड्दै आध्यात्मलाई जीवनको एक मुख्य धारामा ल्याउन चाहान्थे । सम्पूणर् शासकहरुलाई आध्यात्मसँग जोड्न चाहान्थे । त्यत्रो ठूलो विनाश हुँदा पनि सदा शान्त र आनन्दित थिए । ध्यानसँग अभ्यस्त थिए । तर, आजको विशेष दिनमा कृष्णलाई केवल एक पात्रका रुपमा नभई अनन्त तत्वका रुपमा बुझ्ने कोशिस गरौँ । आध्यात्मिक बाटोमा हिँड्न खोज्ने जीवात्माका लागि यो धारबाट श्रीकृष्णलाई बुझ्दा अझ बढी लाभ प्राप्त हुनेछ ।

श्रीकृष्णको पाँच हजार वर्ष पहिले द्वापर युगमा भएको अवतार र त्यसको चर्चा युगौँदेखि अनेक प्रसंगमा चलिरहेको छ । त्यसको आधार महाभारत, श्रीमद् भागवत गीता र अन्य वेद, उपनिषद लगायतका सनातन शास्त्रहरु हुन् । जसमार्फत मानिस श्रीकृष्णको अनेकरुपमा चर्चा गरिरहेका छन् । श्रीमद्भागवत गीता तत्वज्ञानका लागि महाभारत युद्ध भन्दा पहिले अर्जुनलाई श्रीकृष्णले नै दिएको उपदेश हो । सारा वेद तथा उपनिषदको सार पनि यसैमा पाइन्छ । कृष्ण तत्वलाई श्रीमद् भागवत गीताकै श्लोकका आधारमा जान्ने कोशिस गरौँ ।
अनन्त मात्राको ठूलो र अरुलाई पनि अनन्त मात्राको ठूलो बनाउने तत्व ब्रह्म हो । ब्रह्मसँग अनन्त शक्ति छ त्यही शक्तीले अनन्त बनाउँदछ । जगद्गुरु कृपालू जी महाराजका अनुसार “ब्रह्म दिव्य साक्षात्कारको प्रारम्भ हो । त्यही ब्रह्म पनि न त प्रवचनबाट प्राप्त हुन्छ, न त बुद्धि लगाएर प्राप्त हुन्छ, न त शास्त्र र वेद अधिक सुन्नाले नै प्राप्त हुन्छ । जो निराकार ब्रह्ममा समर्पण भएर शरणागत हुन्छ, त्यसलाई भगवान्ले शक्ति प्रदान गर्छन र त्यसले मात्रै ब्रह्मलाई जान्न सक्छ ।” त्यो ब्रह्म भगवान् श्रीकृष्णको एक शक्ति मात्रै होे । श्रीकृष्णमा समाहित तत्व नै ब्रह्म हो । निराकार ब्रह्मभन्दा माथि मध्य वा द्वीतीय स्तरमा परमात्मा छन् । निराकार ब्रह्म र परमात्मा दुवै परमपुरुष भगवानभित्र छन् । त्यसैले श्रीकृष्ण निराकार ब्रह्म र परमात्मा भन्दा पनि शक्तिशाली हुनुहुन्छ । श्रीमद् भागवत गीताको चौधौं अध्यायको सत्ताइसौँ श्लोकमा भनिएको छ स्

“ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च ।

शाश्वतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च ।।”

अर्थात् अमर, अविनाशी, शाश्वत र परमसुखको स्वाभाविक अवस्थास्वरुप निराकार ब्रह्मको आधार पनि म नै हुँ । ( स्रोतः श्रीमद्भगवत्गीता यथारुप पृ.५८५)

त्यसैले ब्रह्म श्रीकृष्णको अंश हो । गौराङ्ग महाप्रभुले भन्नुभएको छ “जसलाई मानिस परमब्रह्म भन्दछन् त्यो श्रीकृष्णको शरिरको प्रकाश हो ।”

परा र अपरा शक्तिलाई पनि धारण गर्ने शक्ति श्रीकृष्ण हुन् । परा र अपरा शक्तिभन्दा पनि माथि श्रीकृष्ण छन् । यसलाई पुष्टि गर्न श्रीमद्भागवत् गीताको सातौँ अध्यायका श्लोकहरु हेरौँ

भूमिरापोअनलो वायुः खं मनो बुद्धिरेव च ।

अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।४।।

अर्थात् पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार यी आठ मेरै विभिन्न भौतिक शक्तिहरु (प्रकृति) हुन् ।

अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।

जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। ५ ।।

हे महाबाहु अर्जुन ! यसबाहेक मेरो एउटा परा शक्ति पनि छ, जसअन्तर्गत भौतिक वा अपरा शक्तिका साधनहरुलाई उपभोग गर्ने जीवात्माहरु पर्दछन् ।

यहाँ जीवात्मा भगवान्को परा शक्तिअन्तर्गत पर्दछन् भन्ने स्पष्ट उल्लेख छ । अपरा शक्ति पृथ्वि, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकारजस्ता विभिन्न पदार्थतत्वका रुपमा प्रकट हुने गर्दछन् । भौतिक प्रकृतिका यी दुवै रुपहरु स्थूल (पृथ्वी आदि) तथा सुक्ष्म -मन आदि) पनि अपरा शक्तिकै प्रतिफल हुन् ।

आफ्ना विविध आवश्यकता पूर्तिका लागि अपरा शक्तिको उपभोग गरिरहेका जीवहरु स्वयं परमेश्वरकै परा शक्ति हुन् र यही शक्तिका कारणले सारा संसार क्रियाशिल हुन्छ । पराशक्तिद्धारा अर्थात् जीवद्वारा गतिशिल नबनाएसम्म यो दृश्य जगत्मा कार्य गर्ने शक्ति नै आउँदैन । शक्तिमान्ले नै सदा शक्तिको नियन्त्रण गरिरहेको हुन्छ । अतः जीवहरु सदा भगवान्बाटै नियन्त्रित हुन्छन् । जीवहरुको आफ्नो कुनै स्वतन्त्र अस्तित्व हुँदैन् । तिनीहरु कहिल्यै पनि समान रुपमा शक्तिमान् हुन सक्दैनन् ।

एतद्योनीति भूतानि सर्वाणीत्युपधारय ।

अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ।। ६ ।।

अर्थात् समस्त प्राणीहरुका उद्गम स्रोत मेरा यिनै दुई शक्ति वा प्रकृतिहरु हुन् । यो जगतमा भएका सम्पूणर् भौतिकता र आध्यात्मिकता एवं तिनको उत्पत्ति र प्रलय दुवै अवस्थाको कारण मै हूँ भन्ने जान । (श्रीमद भागवत्गीता यथारुप, सातौँ अध्याय)

श्रीमद् भागवत गीताको दशौँ अध्यायको बीसौँ श्लोकमा कृष्णले भन्नुभएको छ

अहमात्मा गुणाकेश सर्वभूताशयस्थितः ।

अहमादिश्च मध्य) च भूतानामन्त एव च ।। २० ।।

अर्थात् हे गुणाकेश(अर्जुन) म समस्त जीवात्माका हृदयमा निवास गर्ने परमात्मा हूँ र म नै सम्पूणर् जीवहरुको आदि, मध्य र अन्त पनि हुँ ।

त्यसैगरी श्रीमद् भागवत गीताको एघारौँ अध्यायको बाह्रौँ र तेह्रौं श्लोकमा श्रीकृष्णको विराट स्वरुपबारे यी श्लोकहरु हेरौँ

दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।

यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ।। १२ ।।

अर्थात् आकाशमा एकैपटक हजारौँ सूर्यहरु उदाए भने तिनका प्रकाशको उज्जवलता जति होला त्यत्ति नै जाज्वल्यमान् प्रकाश विश्वरुपधारी भगवानको थियो ।

तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।

अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ।। १३ ।।

अर्थात् त्यस समय अर्जुनले भगवान्को विराट स्वरुपमा हजारौँ हजार भागमा विभाजित भएर रहेको ब्रह्माण्डको असिमित विस्तारलाई एकै ठाउँमा देखे ।

यस्ता दिव्य शक्तीको संसारमा कैयौँ वर्षपछि अवतार हुन्छ । वेदशास्त्र अनुसार भगवान् श्रीकृष्णको अवतार एक कल्पमा एकपटक हुन्छ । ४ अर्ब ३२ करोड बर्षका चारयुग ७१ पटक पुरा भएपछि एक मनवन्तर हुन्छ अर्थात ३० करोड ६६ लाख २० हजार बर्ष बराबर एक मनवन्तर हुन्छ । त्यस्ता १४ मनवन्तर बराबर ब्रह्माको १ दिन हुन्छ, त्यसैलाई कल्प भनिन्छ । ४ अर्ब ३२ करोड वर्षको एक दिन र ८ अर्ब ६४ करोडको दिनरातको हिसाबले ब्रह्माको उमेर १०० वर्षको हुन्छ ।

एक कल्पमा एकपटक हुने श्रीकृष्णको प्रेमावतार पाँचहजार वर्ष पहिले भएको थियो श्रीकृष्णको त्यही अवतारलाई श्रीकृष्ण जन्माष्टमीका रुपमा मनाउछौँ । बाँकी भगवानका अवतारहरु हरेक द्धापरमा हुन्छन् जसलाई युगावतार भनिन्छ । युगावतार श्रीकृष्णको अंश अवतार हो । श्रीकृष्णको त्यो अवतारमा युगावतार कृष्ण समाइएका थिए । त्यसैले श्रीकृष्णका दुइओटा भूमिका सँगसँगै देख्न पाइन्छ एउटा श्रीकृष्ण अनन्त प्रेममय, ध्यानमग्न, भक्तीरसमय छन् एउटा शक्तीको प्रभावले पापी र राक्षसको संहार गर्ने, धर्म संस्थापन गर्ने, युद्ध गर्ने कृष्ण ।

महाभारत कथा भरिकृष्णको भूमिका बहुआयामिक छ, बुझ्न कठिन छ । युगावतार कृष्ण पनि अनन्त शक्तीप्राप्त भगवान्का अंश हुन् । युगावतारका अनेक लिला आफैँमा हाम्रो बुद्धि बाहिर छन् । त्यसैले कृष्णलाई कुनै एउटा पात्रका रुपमा मात्रै हेरेर सामान्य मानिसलाई सरह बुझ्न सकिँदैन ।

हरेक प्राणीहरु भगवानकै अंश हुन्, भगवान् श्रीकृष्णलाई सच्चिनानन्द भनिन्छ । सच्चिनानन्दकै अंश भएकाले सम्पूणर् प्राणीहरु आनन्दको खोजी गरिरहेका हुन्छन् अर्थात् भगवानकै खोजी गरिरहेका हुन्छन् । त्यसैले यस सृष्टिमा कोही पनि नास्तिक हुन सक्दैन् । भौतिक रुपमा जतिसुकै सम्पन्न भए पनि मानिस सन्तुष्ट हुन नसक्नुको पछाडि त्यही कारण छ । जुनसुकै प्राणी पनि आनन्दको खोजीमै हुन्छ । आत्मज्ञान प्राप्त भएपछि भौतिक शरिरको यात्रा गर्दा उत्पन्न हुने कष्टबाट जीव दुखी हुँदैन ।

किनकि म नास्तिक हुँ भन्नेले पनि भगवानै (परमानन्द)को खोजी गरिरहेको हुन्छ । हरेक प्राणीहरुको एकअर्कामा अनन्त प्रेम छ । तर, जीव मायाको प्रभावले भ्रमवश त्यो प्रेमलाई चिन्न सकिरहेको हुँदैन् । मानवको जन्म त्यस प्रेमलाई चिन्न नै भएको हो । त्यसैले मानवमा अनेक प्राणीलाई अनन्त प्रेम गर्नसक्ने क्षमता प्रकट हुनसक्छ । त्यही क्षमतालाई अनुभूति गराउन भगवान् श्रीकृष्णको अवतार भएको हो । त्यसैले श्रीकृष्णलाई प्रेमावतार पनि भनिन्छ ।

कृष्णले गोपिनीसँगको प्रेमलिला र रासलीला मार्फत पनि यही दिव्य ज्ञान प्रदान गर्नुभएको छ । शारीरिक आकर्षणबाट भ्रमित गोपिनीहरुलाई प्रेममय भक्तीरस प्रदान गरी अनन्त तत्वलाई जान्ने शक्ती दिनुभएको छ । रासलीलामा एउटै कृष्णका कैयौँ कृष्ण प्रकट भए भन्ने प्रसंगले यहि प्रमाणित गर्छ । हरेक गोपिनीले प्रेममय भक्तिरस मार्फत आफुमा ब्रह्म प्रकट भएको पाएका थिए । श्रीकृष्ण अर्थात् भगवानको अंश म नै हुँ भन्ने तत्व ज्ञान गोपिनीलाई प्राप्त भएको रहस्य रासलिलाले खोलेको छ ।

श्रीकृष्णको रासलिला लाई केही मूर्खहरुले अनैतिक सम्बन्धको रुपमा अथ्र्याउन खोज्छन् । त्यो भ्रमित भौतिक आँखाको दृष्टिदोष बाहेक केही होइन् । ‘अहम् ब्रह्मास्मी’ अर्थात म नै ब्रह्म हुँ भन्ने ज्ञानको अनुभूति दिलाउने गीताउपदेश समस्त मानवका लागि अमूल्य छ । तर ब्रह्मभन्दा कृष्ण अझ माथि भएको कुरा गीताकै श्लोककाआधारमा पुष्टि गरिसकिएको छ ।

हाम्रा लागि श्रीमद्भागवत् गीता श्रीकृष्ण अवतारको सबैभन्दा ठूलो देन हो । सर्वकारण कारणम् भगवानको दिव्य अनुभूतिका लागि भक्तिमार्गमा लाग्न श्रीकृष्ण जन्माष्टमीको दिन विशेष रहेकाले दिव्य नेत्र खोल्ने मार्गमा सबैको ध्यान लागोस् । जय श्रीकृष्ण । अनलाइन खबरबाट