राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियलसहित ५४ जनाको स्वाब संकलन

कतारमा हुने फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेका राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

दोस्रो चरणमा आज मंगलबार होम क्वारेन्टिनमा बसेका खेलाडीसहित अफिसियलको स्वाब संकलन गरिएको हो। पहिलो र दोस्रो चरणमा गरी कुल ५४ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ।

पहिलो चरणमा सोमबार ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

ललितपुरको पाटन अस्पतालमा मगंलबार तेज तामाङ, विकेश कुथु, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिशेक रिजाल, सुवास तामाङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्जप्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाब संकलन गरिएको छ।
अफिसियलमा टिम म्यानेजर मधुसुदन उपाध्याय, कृष्णभक्त मानन्धर, गोलकिपर प्रशिक्षक विकास मल्ल, मिडिया विवेक सुवेदी, युजल श्रेष्ठ र डाक्टर राजु डंगोलको स्वाब लिइएको छ।

सोमबार रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको थियो।

विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ।
कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।
विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।