मेची सहकारीले गर्यो प्रतिवेदन सार्वजनिक

दमक/दमकमा रहेको मेची सहकारी संस्थाले कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका बाबजुद आर्थिक बर्ष २०७६/०७७ मा पूर्व निर्धारित सबै लक्ष्यहरु पूरा गरि कारोबार बढाउन सफल भएको छ ।
संस्थाले गत आर्थिक बर्षमा झण्डै दुई अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
संस्थाले बुधबार आयोजना गरेको संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले लक्ष्य भन्दा बढी कारोबार गर्न सफल भएको जनाए । सो संस्थाले गत आर्थिक बर्षमा एक अर्ब ९३ करोड, ३९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिए । सो बर्ष संस्थाले शेयर पुँजीमा ४९.६७ प्रतिशत, निक्षेप तथा वचतमा ३८.६२ प्रतिशत, कर्जा लगानीमा २६.६५ प्रतिशत र कोष तर्फ ३५.६१ प्रतिशतले बृद्धी दर हासिल गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारी र यसका कारण भएको लकडाउनका कारण धेरै संस्थाहरु आर्थिक रुपमा टाट पल्टिएका , कतिपय संस्था र तिनका सञ्चालकहरु पलायन भईरहेको अवस्थामा मेची सहकारीका सदस्यहरुको कारोबारमा इमान्दारिता प्रस्तुत गरेकाले यो सफलता हात पार्न सकिएको संस्थाले जनाएको छ ।

संस्थाले यस बर्षको कोरोना महामारीका कारण विश्वभर आईपरेको विपदबाट पाठ सिक्दै आफ्ना सदस्यहरुका लागि विद बचत योजना खाता सञ्चालनमा ल्याउने पनि जनाइएको छ । सबै किसिमका विपत्तका घडीमा सदस्यहरुलाई आत्मनिर्भर बनाउनु र सहज परिस्थितिमा बचत असहजमा उपभोग गर्ने बानीको विकास गराउन, र जटिल प्रकृतिका रोगहरु लाग्दा उपचारका लागि ऋण लिनु पर्ने बाध्यता हटाउन यस योजनाले महत्वपूर्ण सहयोग पुरयाउने विश्वास संस्थाले लिएको छ । त्यसैगरी कृषि उद्यमका लागि ऋण लिएका सदस्यहरुलाई ऋणको किस्ता ६ महिनामा मात्रै तिरे पुग्ने व्यवस्था यस बर्षदेखि गर्न लागिएको व्यवस्थापक बगालेले बताए ।
संस्थाको सञ्चार तथा प्रकाशन उपसमितिले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पत्रकार सम्मेलनको अध्यक्षता उपसमिति संयोजक गीता कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य नरपति पाण्डेले स्वागत गरेका थिए ।

पत्रकार र सञ्चार गृहलाई पुरस्कृत गरिँदै

मेची सहकारी संस्थाले आफना पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको स्व.गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराई पुरस्कृत हुने भएका छन् ।
सहकारीले आफनो २४ औं बार्षिकोत्सव तथा २६ औं बार्षिक साधारणसभामा उनलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ । उनी संगै स्व. गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कारवाट यसवर्ष ओमदेवी मल्ललाई तथा मेची सहकारी पुरस्कार उर्लावारीका पत्रकार रुपेन्द्र शेर्मा र मेची सञ्चार गृह पुरस्कारवाट विर्तामोडको साझा मञ्च मिडीयालाई प्रदान गरिने कार्यक्रममा जनाइयो । संस्थाले १२ भदौमा साधारण सभा गर्दै आएकोमा यस बर्ष आज २८ साउनदेखिनै क्षेत्रगत रुपमा चरणबद्ध साधारण सभा गर्ने जनाइएको छ । १२ भदौ सम्मा सबै सदस्यहरुमाझ साधारण सभाकै रुपमा पुगेर आवश्यक राय सुझाव समेत लिँदै साधारण सभा सम्पन्न गरिने व्यवस्थापक बगालेले जनाए ।