एक चिकित्सक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर । मेचीनगर नगरपालिकामा एक चिकित्सक सहित ४ जना समुदायस्तरका मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर १० स्थित आम्दा अस्पतालका २९ वर्षीय एक जना चिकित्सकलाई आज कोरोना पुष्टि भएको छ । त्यस्तै यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय युवाका परिवारका सदस्य २ जनामासमेत कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका दुई सदस्य मध्ये २५ वर्षीय महिला र १३ बर्षिय बालक रहेको संयोजक नविन बरालले बताए ।
समुदाय स्तरमा गरिएको पिसिआर परिक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएका सबै जनाको गत साउन २४ गते धुलाबारी माविमा स्वाब संकलन गरिएको थियो ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बुधबार जारी गरेको पिसिआर परिक्षणको नतिजा अनुसार बुधबार देखिएका ४ जना नै समुदायस्तरका ब्यक्ति रहेका छन् । बुधबार ४ जनासहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ ।