हात्तीलाई ‘साथी’ बनाउने साझा प्रयास

झापा । मानव र हात्तीबीचको बर्षौंदेखिको द्वन्द्व न्यूनीकरण गर्न झापाको बाहुनडाँगीबाट सामूहिक प्रयासको थालनी गरिएको छ ।

हात्ती प्रभावित बाहुनडाँगीबासीले मेची बगरमा आज (बुधबार) विश्व हात्ती दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रममा हात्ती संरक्षणमा एकजुट भएर लाग्ने उद्घोष गरिएको छ । कार्यक्रममा सहभागी राजनीतिक दल, डिभिजन वन कार्यालय, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयले सामूहिक प्रयासबाट हात्तीसँगको द्वन्द्व घटाउने उपायको खोजी गरिने बताएका छन् ।

झापामा मानव-हात्तीबीचको द्वन्द्व बढ्दै गएपछि स्थानीयस्तरबाट प्रयास थालिएको सम्भवत यो पहिलो हो । झापामा हात्ती र मान्छे मारिने क्रम रोकिएको छैन । वर्षेनी किसानहरुले लगाएको बाली संरक्षणमा पनि उत्तिकै समस्या हुँदै आएको छ ।

मानव-हात्तीबीचको द्वन्द्व न्युनीकरणमा वर्षौंदेखि लागेका अभियन्ता अर्जुन कार्कीले हात्ती व्यवस्थापनमा लाग्न अब ढिला गर्नु नहुने बताए । उनले हात्तीसँगको द्वन्द्व न्युनीकरण सबै क्षेत्रको सहयोग र साथबाट सम्भव हुने बताए । अभियन्ता कार्कीले बाहुनडाँगीमा ‘इलिफेन्ट रेस्पोन्स टिम’ बनाएर यसलाई अरुतिर पनि विस्तार गरिने बताए ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले हात्तीको प्रभावलाई न्यूनीकरण गर्न सरकार लागि परेको बताए । उनले झापामा बन्दै गरेको जैविक मार्गले हात्ती संरक्षण तथा मानव जाति सुरक्षित रहनसक्ने बताए । ‘हात्ती समस्या आजको भोलि समाधान हुन सक्दैन’ उनले भने, ‘अल्पकालीन र दीर्घकालीन समाधान खोजेर अगाडि बढ्नुपर्छ ।’

प्रमुख घिमिरेका अनुसार झापामा अहिलेसम्म ४ करोड रुपैयाँ हात्ती पीडितका लागि राहत वितरण गरिसकिएको छ । जसमा ३ हजार घरधुरीले सो बराबरको रकम पाएका हुन् । यो वर्ष मात्रै झापाका हात्ती पीडित ४५० जनालाई ६९ लाख रुपैयाँ राहत वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

हात्ती पीडितले दिएको क्षतिपूर्तिको निवेदन १४१ वटा संघीय सरकारमा पठाइएको छ । क्षतिपूर्ति वापतको रकम लिने प्रक्रिया अलिक झन्झटिलो भएकाले यसलाई अझै सरलकृत बनाउन आफूहरु लागि परेको पनि डिभिजन प्रमुख घिमिरे बताउँछन् ।

कार्यक्रममा जिल्ला वन महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारीले हात्ती व्यवस्थापन गर्न सामुदायिक वनहरुमा केरा, बाँस लगाउन सुरु गरिएको बताए । उनले वन परिसरमा हात्तीले खाने घाँस रोपन गरेर क्षति न्युनीकरण गर्न सकिने बताए । अध्यक्ष भण्डारीले झापामा रहेका १३ वटा रैथाने हात्तीको आतंकबाट स्थानीय आजित भइरहेको पनि बताए । ‘आँखा फुटेको एउटा रैथाने हात्तीको उपद्रव डरलाग्दो छ, यसको उपचारमा नलागे भोलि जे पनि हुनसक्छ,’ उनले भने ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोखरेलले हात्तीले पनि बाँच्न पाउने अधिकारलाई मानिसले संरक्षण गर्नु पर्नेमा जोड दिए । उनले हात्ती र मानबीचको सुमधुर सम्बन्ध स्थापित हुनसके दुवै पक्षलाई फाइदा पुग्ने बताए ।

कार्यक्रममा मानव हात्ती द्वन्द्व रुपान्तरण वातावरण संरक्षण मञ्चका अध्यक्ष हरि उप्रेती, मेचीनगर वडा नं ४ का वडाध्यक्ष नविन बराल, मेचीनगर वडा नं १ का वडाध्यक्ष पासाङ तामाङ, नेकपा मेचीनगर वडा नं ४ का अध्यक्ष मेघराज खड्का, काँग्रेसका जिल्ला सदस्य निरज घिमिरे, राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष रमेश दाहाल, शिक्षक पुस्कर ढकाल, स्थानीय शंकर लुइँटेल लगायतले हात्ती समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

सन् २०१२ देखि मनाइँदै आएको विश्व हात्ती दिवस हरेक वर्ष अगस्ट १२ तारिख पर्दछ । मान्छेकै कारण विश्वमा हात्तीबाट मारिने क्रम बढ्दो छ । विश्वमा हरेक वर्ष २० हजार हात्ती मारिने गरेको बताइएको छ । ४० हजारभन्दा बढी हात्तीको दारा निकालेर तस्करी हुने गरेको छ ।