कोरोनाले गर्दा वडाको भवन सुटुक्क उद्घाटन

धुलाबारी, ३० साउन । मेचीनगर नगरपालिका वडा नम्बर ९ को नयाँ भवनबाट अब सेवा सञ्चालन हुने भएको छ । तत्कालीन धुलाबारी गाविससमेत रहेको उक्त भवन जीणर् बनेपछि नयाँ भवन निर्माण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच नयाँ भवन उद्घाटन गरिएको छ । नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले संयुक्त एकतले पाँचकोेठे पक्की भवन उद्घाटन गरेका हुन् ।

वडा नम्बर ९ को कार्यालय भवन निर्माण आयोजनाको कुल लागत ९४ लाख ८० हजार ४३ रुपैयाँ अनुमान गरिए पनि ६८ लाख ६५ हजार १ सय ४५ रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो । मेचीनगरपालिकाबाट ३८ लाख ६५ हजार १४५ रुपैयाँ र जिल्ला समन्वय समिति झापाबाट ३० लाख रुपैयाँ बजेट जुटाई २०७६ साल भदौ १८ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । २०७५ भदौ ११ गते सम्झौता भई २०७६ चैत मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

उद्घाटनपछि वडाको सबै सेवा नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल खड्काले बताए । भवन उद्घाटन कार्यक्रम भव्यरुपमा आयोजना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण नगरिएको उनले बताए ।