दमकको नयाँ सब्जि बजार सिल: अस्पतालहरुमा ईमर्जेन्सी बाहेकका सेवा बन्द

दमक/ दमकमा समुदायस्तरमै कोरोना संक्रमणको आसंका गरिए संगै दमकमा अस्पताल तथा क्लिनिकहरुमा ओपिडि सेवा बन्द गर्ने निर्णय गरिएको छ । दमक नगरपालीकामा शुक्रबार भएको छलफलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दमकका अस्पतालहरुमा ईमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको हो । दमकका अस्पतालहरुका साथै क्लिनिकहरुमा पनि डाक्टरहरुले दिँदै आएको सेवा बन्द गर्ने निर्ण भएको छ । अब निजि क्लिनिकहरुको औषधि बेच्न मात्रै पाउने छन् ।
अस्पतालबाट ईमर्जेन्सी बाहेक अन्य सेवा तत्काललाई रोक्ने निर्णय गरिएको बैठकमा सहभागी दमकको एक अस्पतालका सञ्चालकले बताए । सनिवारबाट दमकका कुनै पनि अस्पतालले ईमर्जेन्सी बाहेकका सेवा नदिने उनले बताए ।
समुदायमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै अति आवस्यक काम बाहेक बाहिर ननिस्कन नगरबासीहरु समक्ष नगरपालीकाले आग्रह गरेको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पनि घरायसी उपचार गर्न अथवा चिकित्सकहरुलाई टेलिफोनबाटै सम्पर्क गरेर सल्लाह लिन आग्रह गरिएको छ ।

दमकको नयाँ सब्जी बजार सिल

केही दिन अघि उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएका झापाको दमक ६ स्थित नयाँ तरकारी बजारका एक जना व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझदेखि सो बजारमा आवतजावत बन्द गरिँदैछ । दमक नगरपालिकाको आकस्मिक बैठकले संक्रमित व्यवसायीको परिवारसंगै कन्ट्रयाक ट्रेसिङमा परेका अन्यको पहिचान गर्न तत्काल सो बजारमा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले संक्रमित व्यवसायी हाल काठमाडौंमा अन्य रोगको उपचारका लागि गएकोमा कोरोना पोजिटिभ देखिएको हुँदा आवश्यक सतर्कताका लागि तरकारी बजार बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले भने– ति व्यवसायीमा संक्रमण दमक हुँदा नै थियो वा विराटनगर , काठमाडौं पुगेपछि भयो भन्ने यकिन हुन नसकेकाले परिवारका सदस्यहरुको समेत पीसिआर गरेर यथार्थ पत्ता लगाउन सजिलो हुने भएकाले बजार बन्द गरिन लागेको हो ।