निर्देशिका विपरित अस्पतालहरुको सेवा बन्द

मोरङ /कोरोना संक्रमण फैलदै गएपछि मोरङ र सुनसरीका अधिकांश अस्पतालहरुले आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बिपरित सेवा बन्द गर्न थालेका छन् । निर्देशिकाले तोके बमोजिमका आइसोलेसन समेत अस्पतालहरुले निर्माण गरेका छैनन् । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्यूरो अस्पताल, गोल्डेन अस्पताल, मोरङ सहकारीलगायतका अस्पतालहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । कोशी अस्पतालले पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि साउन १६ गतेदेखि १९ गतेसम्म चार दिन ओपीडी सेवा बन्द गरेको थियो ।

विराटनगर महानगरले नै विराट नर्सिङ होममा संक्रमित देखिएपछि ११ दिन सिल गरेको थियो । अस्पतालहरुले ओपिडि सेवा बन्द गरेपछि विरामीहरु निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् । अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाले अन्यमा संक्रमण नफैलियोस भनेर सेवा तत्कालका लागि बन्द गरिएको प्रष्टिकरण दिएका छन् । विपि प्रतिष्ठान परिषरमा नै संक्रमण देखिएको छ भने नोबेल अस्पतालका ९ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ । न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले विरानटगरमा समुदायस्तरमै संक्रमण फैलिएकाले सेवा बन्द गरेको दाबी गर्नुभयो ।

नोबेल, न्यूरोलगायतका केही अस्पतालले आइसोलेसन वार्ड सञ्चालन गरेपनि अन्य अस्पतालहरुले आइसोलेसन वार्ड समेत निर्माण गरेका छैनन् ।प्रदेश २ को महोतरीदेखि पूदेश एकका प्राय:सबै जिल्लाबाट उपचारका लागि बिरामीहरु धरान र विराटनगर जाने गरेका छन् ।

रेडियो कान्तिपुर