केपी ओलीको दिव्य वाक्यले देखाएको बाटो

चेतन अधिकारी

पार्टी अध्यक्ष बन्न महाधिवेशनसम्म पर्खनुस्, प्रधानमन्त्री बन्न अर्को चुनाव कुर्नुस्’– यो दिव्य वाक्य अहिले नेपाली राजनीतिमा चर्चाको केन्द्रमा छ । केपी ओलीका यी वाक्यमा शब्दहरु मात्र छैनन्, विधि र प्रकृयाका पक्षमा प्रबल विचार पनि छन् । यो दुई वाक्य विधि र प्रकृयाका महामन्त्र हुन् । यी दुई वाक्य लोकतन्त्रका सिद्धान्त हुन् । यी दुई वाक्य नेकपाका लागि मात्र नभएर सत्तारुढ हुने कुनै पनि पार्टीका लागि आज पनि र भविष्यमा समेत मार्गदर्शक हुन् ।

पार्टीको नेतृत्वमा पुग्न महाधिवेशन र सरकारको नेतृत्वमा पुग्न आमचुनाव पर्खनुपर्ने भनेर ओलीले दिनुभएको अभिव्यक्तिले नेपालको ३० वर्षको संसदीय राजनीतिको सार खिचेको छ, भविष्यका लागि बाटो देखाएको छ । त्यसैले यो अभिव्यक्ति चर्चित बन्न पुग्यो । सुदूर भविष्यसम्म ओलीका यी वाक्यहरु चर्चित् रहनेछन् ।

र, प्रधानमन्त्री ओलीले अहिले अर्काे एउटा गम्भीर वाक्य बोल्नुभएको छ । एपी वान टेलिभिजनले साउन २८ गते एउटा नयाँ टक सो थाल्यो । भूषण दाहालको नयाँ टिभि सो ब्रेभो डेल्टाका पहिलो पाहुना हुनुहन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली । नयाँ टक सो मा प्रधानमन्त्री ओलीले नयैं कुराको घोषणा गरिदिनुभयो । त्यो थियो– ‘अबको पाँचदिन पछि नेकपाको विवाद समापन हुन्छ ।’

राती १० बज्नै लाग्दा प्रधानमन्त्री ओलीको त्यो घोषणा आएको थियो । र, प्रधानमन्त्रीले भन्नुभए अनुसारको काउन्ट डाउन शुरु भइसकेको छ । 

गडबडी किन ?

अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन नपाइने दुई वर्षे समयसीमा सकिनासाथ अर्थात्, सरकारको कार्यकाल दुई वर्ष पूरा हुनासाथ नेकपाभित्र गडबडी शुरु भएको थियो । र, पछिल्लो महिनादिन देखि पार्टीभित्रको गडबडी उत्कर्षमा थियो । नेकपाको विवाद यसरी बढेको थियो कि अब पार्टी फुट्यो भन्ने निष्कर्षमा धेरै नेताहरु पुगिसकेका थिए । कार्यकर्ता पनि मुलुक र पार्टीको अँध्यारो भविष्य कल्पना गर्दै सुस्ताएका थिए । 

नेकपाभित्र विवाद किन ? प्रचण्ड–नेपाल समूहका अनुसार पार्टीमा विधि र पद्धति स्थापित गर्न अनि पार्टीलाई बलियो बनाउन विवाद गरिएको हो । केपी ओलीलाई सकेसम्म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटायो भने, नसकेको अवस्थामा एउटा पदबाट हटायो भने विधि प्रक्रिया स्थापित हुन्छ भन्ने तर्क सुन्न पाइयो । पार्टीको विवादमा प्रचण्ड–नेपाल समूहले दोषजति ओलीलाई बोकाएर दिएका अभिव्यक्ति सुनेका आम नेपालीले प्रधानमन्त्रीका तर्फबाट त्यसको प्रतिकार सुन्न पाएका थिएनन् । 

समसामयिक राजनीतिक परिवेशबारे सदा सटिक र वस्तुनिष्ठ टिप्पणी गरिरहने प्रधानमन्त्री ओलीले यसपाली फरक स्वभाव देखाउनु भयो । पार्टी भित्रको विवादका बिषयमा प्रधानमन्त्रीको मुखबाट कसैले कुनै अभिव्यक्ति सुनेका थिएनन् । केवल नेताहरुले प्रधानमन्त्रीलाई उदृत गरेका भनाई बाहेक । तर २९ साउनको राति भुषण दाहालसँगको अन्र्तवार्तामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र समयसीमा पार्टी विवाद साम्य पार्ने पाँचदिने समयसीमाले मुलुक राजनीतिक अस्थिरताको संघारबाट पछाडि हटेको आशा पलाएको छ । 

प्रधानमन्त्रीले घोषणा गरे बमोजिम साउन २९ गते अध्यक्ष प्रचण्डसँगको भेट र त्यहाँ भएको सकारात्मक छलफलले प्रधानमन्त्री ओलीप्रति आम नेता कार्यकर्ताको एकपटक फेरी आकर्षण बढेर गएको छ । ओलीले घोषणा गर्नुभए बमोजिम नै साउन ३० मा नेकपाको विवाद हल गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनेको छ । जसबाट आम नेता कार्यकर्ताले नेकपाको जारी विवाद कुन मोडलमा समाधान होला भनेर विभिन्न अड्कलबाजी गरिरहेका छन् । कार्यदलले सहमतिको खाका चाँडै ल्याउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले नै पार्टीमा विग्रह खडा गरेको, सहमति गर्न नचाहेको र पार्टी फुटाउने तयारी गरेको र अझ एक बरिष्ठ नेताले मिडियामा बोलेको आधारमा भन्ने हो भने त पार्टी फुटाइसकेको भन्ने अभिव्यक्ति एक्कासी फिका भएको छ । बरु प्रधानमन्त्रीसँग सहमतिको खाका बनाउँदै गर्ने अनि बाटैबाट गुटको भेलामा सहभागी हुने अध्यक्ष प्रचण्डको गतिबिधिबाट नेता कार्यकर्ता निराश भए । बालुवाटारबाट सहमतिको आशाको किरण आम कार्यकर्तामा छरिन नपाउँदै थापागाउँमा भएको गुट भेलाले बादल लगाउने प्रयास ग¥यो । तर सुखद कुरा के भने गुट भेलाको महाअभियान प्रदेश भन्दा तल जान सकेन । त्यही बिराम लागेको छ । गुट भेलाको समापनसँगै नेता कार्यकर्तामा अर्को उत्साहको सञ्चार भएको छ कि अब गुट हैन नेकपा पार्टी चल्छ । 

ग्रुप फोरको गतिविधि

केही दिन अघि नेकपाका एकजना नेताका एक नेताले भने– बन्नेहरु बनिसके, हामी बन्न बाँकीहरुलाई बन्न नदिने भए । ती नेताको आशय थियो प्रधानमन्त्री, पार्टी प्रमुख भइसकेका नेताहरु पुन उही पदमा पुग्न नेकपामा रडाको मच्चाउँदैछन् । उनीहरुका लागि यो रडाको ‘आए आँप गए झटारो’ जस्तै हो । तर दोस्रो तहका नेताहरुका लागि यो रडाकोले राजनीतिक गन्तव्यको शिखरमा पुग्नका लागि अवरोध खडा गरेको छ । 

सरकार विरुद्ध अविराम रुपमा लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको एउटै जोड केपी ओलीलाई पार्टी र सरकारबाट अलग गर्नु हो । उहाँहरु चारजनाको टिमलाई आजकाल ‘ग्रुप फोर’ पनि भन्ने गरिएको छ । पार्टीलाई विधिबाट चलाउनका लागि आफूहरुले अभियान चालेको भनेपनि सारमा यो अभियान पद केन्द्रित छ भन्ने जगजाहेर छ । ग्रुप फोरका नेताहरुको इतिहासले के बताउँछ भने उहाँहरु नै हो सबैभन्दा लामो समय सरकार र पार्टीको सत्तामा बस्ने पात्रहरु । 

त्यसैले अहिले कार्यकारी पदका लागि केहीबर्ष कुर्न पर्दा उहाँहरुको अवस्था पानी बिनाको माछा जस्तो भएको छ । नेकपाभित्रको विवादको चुरो यही हो । ३० बर्षसम्म माओवादी पाटीको एकल अध्यक्ष हुनुभएका दाहाल, १६ बर्षसम्म महासचिव हुनभएका नेपाल, चिठ्ठाबाटै भए पनि महासचिव र पछि अध्यक्ष हनुभएका खनालहरुले आफ्नो रडाको पदका लागि होइन भन्दा पनि जनताले पत्याएनन् । ग्रुप फोरको लक्ष्य पद्धतिका लागि होइन कि पदका लागि हो भन्ने बुझ्ने चेतनाका जनता छन् । 

ग्रुप फोरको विगत टुटफुटमै केन्द्रित छ । त्यसकारण यो आदतले अहिले पनि उहाँहरुलाई पछ्याउन छोडेको छैन । जस्तो– आफू महासचिब भएको बेला माधव नेपालले नेकपा (एमाले) फुटाउने स्थिति बनाउनुभयो, पार्टीभित्र     तानाशाही चलाउनुभयो । माधवका पालामा कतिपय नेताहरुलाई सार्वजनिक रुपमा नबोल्न आदेश दिने गरिएको थियो । ०५४ सालको एमाले विभाजन नेपाल महासचित्र भएकै समयमा भएको हो ।  ०५१ सालको चुनावमा २०५ मध्ये ८८ सिट ल्याएर सर्वाधिक ठूलो पार्टीलाई बनेको एमालेले २०६४ सालको चुनावमा प्रत्यक्षतर्फ २६५ मा ३३ सिट मात्र ल्यायो । पद्धतिका लागि लडेको भन्नुहुने माधव नेपालले काठमाडौं र रौतहटबाट चुनाव हारेको केही महिना नबित्दै तत्कालीन माओवादी कोटामा मनोनीत बनेर संविधानसभा सदस्य बन्नुभयो । प्रचण्डले दया गरेर संविधानसभा प्रवेश गराएका माधव नेपालको महत्वकांक्षा यति बढ्यो कि त्यसको अरु केही महिनामा उनै प्रचण्डलाई विस्थापित गरेर प्रधानमन्त्री बन्नुभयो । त्यसबेला माधव नेपाललाई संविधानसभा सदस्य बनाएकोमा पछुतो मान्दै प्रचण्डले भन्नुभएको थियो– ‘बट वृक्ष भनेर रोपेको बिष वृक्ष पो परेछ ।’ 

‘विधि र पद्धतिका लागि लड्दैछौं’ भनिरहनुभएका प्रचण्डले ३० बर्षसम्म एकल अध्यक्ष र अहिले नेकपाको कार्यकारी अध्यक्ष हाँकिरहनुभएको छ । ३० वर्षसम्म उहाँले एकपटक पनि चुनाव नलडी नेतृत्व पाउनुभयो । उहाँले नेतृत्व गरेको पार्टीमा कहिले पनि नेतृत्वका लागि चुनाव भएन । भोटको बाकस थापेर नेतृत्व लिने र छाड्ने काम प्रचण्डको इतिहासमा कहिले भएन । प्रचण्डले प्रतिस्पर्धी नेताहरुसँग सहमति गरेको, गिभ एण्ड टेक गरेको, पावर शेयरिङ गरेको इतिहास छैन । प्रतिस्पर्धीलाई पार्टीबाट निकाल्ने काम मात्र गर्नुभयो । आफ्ना अगाडि टाउको ठाडो पार्ने मोहन वैद्य, बाुबराम भट्राई, सीपी गजुरेल, रामबहादुर थापा बादल र नेत्रबिक्रम चन्दहरुलाई प्रचण्डले पार्टीबाट विदा गर्नुभयो । तीमध्ये बादलसँग पछि एकीकृत हुनुभयो । अहिले पनि पूर्व माओवादी समूहभित्र आफ्नो विरोधमा जानेहरुलाई ‘नेस्तानाबुद’ पार्नुपर्छ भन्नुहुन्छ प्रचण्ड । 

प्रचण्डले विधि र पद्धति भनिरहनुहुँदा के पनि सम्झना गर्नुपर्छ भने उहाँको विगत पार्टीमा को कुन पदमा थिए भन्ने अभिलेख छैन, कार्यकर्ताको अभिलेख छैन । जो भेटिन्छन् तिनलाई ‘केन्द्रीय सदस्य बन्नुभयो’ भन्नुहुन्थ्यो प्रचण्ड । त्यसैले प्रचण्डको पार्टीमा एकताका चारपाँच हजारजना केन्द्रीय सदस्य पुगेका थिए । त्यसरी पार्टी चलाउनुभएका प्रचण्डले विधि र पद्धतिको कुरा गर्नु हास्यास्पद हो ।

माओवादी पार्टीको आकार तिव्र गतिमा खुम्चिन थालेपछि तथा आफ्नो व्यक्तिगत राजनीतिक जीवन नै संकटमा परेपछि मात्र एमालेसँग एकिकरणका लागि प्रचण्ड तयार हुनुभएको तथ्य सबैले बुझेका छन् । ०७४ को स्थानीय चुनावमा प्रचण्डले कांग्रेससँग गठबन्धन गर्नुभयो । कांग्रेससँगको गठवन्धन छोरी रेणु दाहाललाई भरतपुरको मेयर बनाउने काममा मात्र सफल सावित भयो । स्थानीय चुनावमा प्रचण्डको पार्टी तेस्रो भयो, दोस्रो कांग्रेसभन्दा धेरै नै पछाडिको हैसियत भयो । तसर्थ, एमालेसँग एकीकरण गर्न बाध्य हुनुभयो ।

प्रचण्डलाई लागेको थियो एकीकरणपछि सबै नेतालाई आफ्नै इशारामा नचाउँछु । विगत माओवादीमा सबैलाई फनफनी घुमाएको, चित्त नबुझ्नासाथ पार्टीबाट घोक्राएर निकालेको, चुनाव नै नगरी ३० वर्ष पार्टी नेतृत्व क्याप्चर गरेको अनुभवका आधारमा केपी ओलीलाई पनि त्यसै गर्न सक्छु भन्ने प्रचण्डलाई लागेको हुनसक्छ । तर, ओली त्यति सजिला पात्र पर्नुभएन जसलाई प्रचण्डले इच्छा अनुसार चलाउन सकुन् । तर, प्रचण्डले माधव र झलनाथलाई भने फन्दामा पार्न सफल हुनुभयो । माधव र झलनाथको साथ अनि नारायणकाजीको हात मिलाएर दाहालले जे राजनीतिक दुष्कर्म मञ्चन गर्न खोज्नुभयो, त्यसको लगभग पटाक्षेप हुने अवस्था आएको छ । किनभने पार्टी एकता भंग नहुने भएको छ ।

यहाँनेर नारायणकाजीको पनि चर्चा गरौं । उहाँ पनि जीवनमा कहिले पार्टीको आन्तरिक चुनाव नलडेको मानिस हो । प्रचण्ड तथा नारायणकाजीहरु विगतमा जुन पार्टी धाराबाट आउनुभयो त्यहाँ नेतृत्वमा पुग्ने दुई उपाय थियो– षडयन्त्र र आशिर्वाद । कहिले षडयन्त्र र कहिले आशिर्वादको उपयोग गर्दै नारायणकाजी दाहालको निकट अर्थात् पार्टीको आन्तरिक सत्तामा पुग्नुभएको छ । नारायणकाजीसँग संसुदीय चुनाव लडेर जित्ने क्षेत्र छैन, पार्टीभित्र चुनाव लडेर नेतृत्वमा पुग्नका लागि साथ दिने केही दर्जन कार्यकर्ता समेत छैनन् । यस्ता पात्र पनि ग्रुप फोरमा हुनु रमाइलो कुरा हो ।

ग्रुप फोरको भविष्य के ?

एमालेसँग मिलौंला, त्यसभित्रका नेताहरुलाई फुटाउँला, झ्याप्पै बहुमत बनाएर एमालेको माओवादीकरण गरौंला भन्ने अभीष्टले नै प्रचण्डले पार्टी एकीकरण गर्नुभएको भन्ने आधार देखिन थालेका छन् । यसैका लागि उहाँले ग्रुप फोर बनाउनुभयो ।

नवगठित नेकपामा विधि र पद्धति स्थापित गर्ने भन्दै विधि भत्काउने प्रयास गरिँदै आएको छ । एकीकृत दुई पार्टीमध्ये एउटा पार्टीका अध्यक्षले पद छाडिदिनुपर्ने र अर्काे अर्थात् सानो पार्टीका अध्यक्षलाई पद दिनुपर्ने यो कुन विधि हो ? नेकपाका कार्यकर्ताले मात्र नभएर आम जनताले उठाइरहेको प्रश्न हो यो । जनताले पाँच वर्ष चलाउनु भनेर जसका नाममा भोट दिए, उनै प्रधानमन्त्रीलाई हटाएर कस्तो विधि स्थापित गर्न खोजिएको हो ? ग्रुप फोरले सार्वजनिक रुपमा चित्त बुझ्दो जवाफ दिएको छैन ।

ग्रुप फोर गठबन्ध कति टिक्छ ? यो गठवन्धन घिउ बेचुवार तरवार बेचुवाहरुको जमात जस्तो छ । महाधिवेशनको रौनक लाग्ने वित्तिकै यो गठबन्धन विधिसम्मत ढंगले चकानाचुर हुनेछ । किनकि प्रधानमन्त्री ओलीले एउटै कक्षा दोहोर्‍याएर पढ्दिन भन्नुभएको छ । त्यसैले अब नेकपाका अध्यक्षका दाबेदार दाहाल र नेपाल हुनुहुन्छ । अहिले काम गरिरहेको कार्यदलले अवश्य पनि महाधिवेशनको खाका तयार पार्नेछ र पार्टीको सचिवालय र स्थायी कमिटीले यसलाई अनुमोदन गर्नेछ । त्यसपछि नेकपा महाधिवेशनको बाटोमा लाग्नेछ । त्यसपछि ग्रुप फोरको समीकरण भंग हुनेछ ।

नेकपामा सहमति, सहकार्य र एकताको खोजीमा लाग्ने हो भने ग्रुप फोरमा रहेका हरेक नेताको भविष्य छ । त्यसो नगरेर छद्म कर्ममा लाग्ने, विधि प्रकृयाको नारा लगाउँदै विधि प्रकृयाको धज्जी उडाउने हो भने उहाँहरु इतिहासमा सीमित बन्नुहुनेछ । 

मुख्य कुरा, ग्रुप फोरका हरेक नेताले महाधिवेशनलाई आत्मसात गर्नुपर्छ । माहाधिवेशनबाट भाग्ने काम कुनै हालतमा गर्न हुँदैन । नेकपाको विवाद समाधानको एकमात्र उपाय महाधिवेशन नै हो भन्ने तथ्य स्थापित भइसकेको छ ।