दमकमा लकडाउनको पुर्ण पालना

दमक, । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि आईतवार देखि दमक नगरपालिकाले एक साता लामो लकडाउनले दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लकडाउन गरेको हो ।

दुई दिन अघि दमकमा एकैसाथ ६ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै संभावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधि लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित सम्बन्धित सरकारी अधिकारीहरु निस्किसकेका छन् ।
दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चियादोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधनहरु फ्याटफूटट सञ्चालनमा छन् ।
बजार क्षेत्रमा पसलहरु ठप्प छन् भने अत्यावश्यक सेवाका साधनहरु मात्रै चलिरहेका छन् । दमक उद्योग बाणिज्य संघ आफैले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लकडाउन गर्न सुझाव दिदै पसल ब्यवसाय बन्द गर्ने हिजोनै निर्णय गरेको थियो ।
नगरबासीहरुले दमकमा लकडाउन सगै कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, बिरामीको उपचारका लागि आइसोलेसन कक्ष तथा कोभिड उपचार विशेष अस्पतालको ब्यवस्था गर्न माग गरेका छन् ।
दमकमा हालसम्म २१ जनामा संक्रमण पुष्टि भईसकेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किसकेका र अन्य उपचाररत रहेको नगरपालिकाकी प्रबक्ता समेत रहनुभएकी उपप्रमुख गीता अधिकारीले जानकारी दिईन् ।