उर्लाबारीमा थपियो लकडाउन ( सुचना सहित)

उर्लाबारी /मोरङको उर्लाबारी नगरमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने अांकलन गर्दै भदौ ७ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आइतबारको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर उप प्रमुख लक्ष्मीदेवि भण्डारीले जानकारी दिएकी छन् । अझ बढी स्वास्थ्य सतर्कता अपनाउँदै भदौ ७ गते राती १२ बजेसम्म लकडाउनको अवधि थप भएको छ । अन्य छिमेकी पालिकाहरुले समेत लकडाउन बढाएपछि कोरोना संक्रमणबाट जोगिन लकडाउनको अवधि बढाउन अावश्यक भएको उप प्रमुख भण्डारीले बताएकी छन् । यश अवधिमा बजार, सिमानाका, सफारी,टम्पो,मोटरसाइकल समेतलाई कडाई गरिने जनाइएको छ। कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका अध्यक्ष खड्ग फागोको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय सामान, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ,अौषधिहरुलाई मात्र खुला राख्ने र अघिल्लो निर्णयलाई नै यथावत गर्ने निर्णय गरेको छ ।
यसका साथैअत्यावश्यक कामका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई पनि बिगत कै निर्णय लागू हुने भएको छ । बैठकले सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने निर्णय गरेको छ ।
लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बाल बालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र माक्स नलाउनेलाई जरिवाना हुने भएको छ ।
नगरपालिकाले लकडाउनको समयमा घरबाहिर ननिस्किइ आफु पनि बाँच्न र अरुलाई बचाउन सार्वजनिक आव्हान पनि गरेको छ ।