दमकमा कोरोना संक्रमित बढ्दै

दमक। झापाको दमकमा पछिल्लो क्रममा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्र १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएसँगै दमकबाट पठाइएका अहिले सम्मको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको संख्या ३७ पुगेको छ ।

आज पोजेटिभ रिपोर्ट आउनेहरुमा सशस्त्र प्रहरीका एक २८ वर्षीय पुरुष र विज्ञान पार्ककी २२ वर्षीया महिला, दाहाल प्रतिष्ठानमा बस्दै आएका २५ र २६ वर्षीय पुरुष छन् । त्यस्तै पाथीभरा होटल क्वारेन्टाइनमा बस्दै आएका ३ जना भारतीयमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु २२, २५ र २६ वर्षीय पुरुष हुन् ।

अन्य संक्रमण पुष्टि हुनेमा वडा नम्बर ३ का २९ र ३७ वर्षीय पुरुष र वडा नम्बर ५ का ६२ वर्षीय पुरुष छन् । संक्रमित ३७ जना मध्ये १४ जनाले कोरोना जितिसकेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । आजको रिपोर्टले दमकमा समुदायमा कोरोना फैलिसकेको पुष्टि भएको छ । योसँगै दमक नगरपालिकाले लगाएको एक हप्ते लकडाउन पनि बढ्न सक्ने देखिएको छ ।