मेचीको ढुङ्गामा तस्करको रजाइँ, मेचीनगर रमिते मात्रै

मुक्ति पौडेल
झापा । प्राकृतिक स्रोत दोहनमा तस्कर मग्न हुँदा झापाको मेचीनगर रमिते मात्रै भएको छ ।
पाँच वर्ष अघि झापा मेचीनगर १ पाटापुरका स्थानीय बलराम पुरीले मेची नदीले बगाएको धानखेती हुने आफ्नो जमिन देखाउदैँ भनेका थिए – “वर्षेनी अलि अलि कटान हुन्थ्यो तर यो साल मेची उर्लिएर आएको छ, त्याँहा मेरो धानखेत हुने ६ विगाह जमिन थियो, अब कतिखेर गाँउ बगाउने हो थाहा छैन ।” पुरीले स्थानीय प्रशासनसँग गुहार पनि मागे । तत्कालीन प्रमूख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनको समस्यामा समाधान चाँडै हुने भन्ने आश्वसन पनि दिए, तर पाँच वर्ष वितिसक्दा उनको समस्या घट्नुको साट्टा अझ बढेको छ । बरु समस्याले अर्को रुप लिएको छ । मेचीले लगभग ३ सय मिटर बढी नेपाल पट्टिको जमिन कटान गरेको छ ।
पाटापुर र तिरिङ कटान हुनुको प्रमुख कारण नै चुरेक्षेत्रको अप्राकृतिक र अवैध उत्खनन् भएको स्थानीय ओम पुरीको भनाई रहेको छ । पुरीका अनुसार चुरे दोहनको कारण नै यो क्षेत्रमा सयौ विघाह जमिन कटान भईसकेको छ । मेची नगरपालिका मौन बस्नु र स्थानीय माफियाहरुको दादागिरी नै विनाशको प्रमूख कारण हो । ‘‘चुरे दोहन नगरौँ भनि आवाज उठाएको वर्षौ भयो, कसैले सुनेनन्”, ओम पुरी भन्छन्-‘‘भारत तर्फ जंगल झाँगिदै आउदैछ, नेपाल पट्टि खोला सर्दैछ, पैसाको अगाडी आफ्नो गाँउको माया केही होइन रहेछ ।”
माफियाहरुले नेपाल पट्टिको भागमा नदिजन्य पदार्थको उत्खनन् गरेको कारण खोला नेपाल पट्टि सरेको छ । १० नं देखी १७ नंं सम्म सिमा पिल्लर हराएको छ । खोला सरेपछि नेपाल पट्टिको भुभाग पनि भारतको रहेको दावी गर्दै ढुङ्गा निकाल्ने गरेको पाईएको छ । पाटापुरको उत्तरी सिमानामा रहेको रोङ गाँउपालिका -६ सलकपुरवासी सोही अवैध उत्खनन्को चपेटामा परेका छन् । चुरेको नदिजन्य उत्खनन्ले सलकपुरमा जमिनहरु भासीने, पानीको मुहानहरु सुक्ने साथै प्राकृतिक समस्याहरु देखा परेको रोङ्-६का वडाध्यक्ष सुवास तामाङले बताए । अवैध उत्खनन्मा संलग्न मानिसहरु र उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई पटक-पटक नियन्त्रणमा लिएको र आइन्दा अवैध गतिविधि नगर्ने सर्तमा जरिवाना गराएको सलकपुर प्रहरीले बताएको छ ।
रातारात हजारौँ घनमिटर ढुङ्गा गायव प्राकृतिक स्रोतको विवादमा झापा र इलामका स्थानिय तहविच पटकपटक विवाद समेत हुने गरेको छ । गत फागुनमा सलकपुर पट्टिको ढुङ्गा चोरी भएको भन्दै झापाको बाहुण्डागी तर्फ सिँचाई हुने सिद्धिखोला नहर नै सलकपुरवासीले बन्द गरेका थिए । सोही विवादको कारण इलामको रोङ गाउपालिकास्थित मेची नदी किनाराको चुरे क्षेत्रबाट स्थानीय तस्करहरुले चोरी गरी ल्याएको ७ हजार ५ सय घनमिटर ढुङ्गा तिरिङखोला बगरमा भण्डारण गरेर बिक्री गर्न लागेको अवस्थामा मेची नगर नगरपालिकाले फेला पारी जफत गरेको थियो । जफतपश्चात नगरपालिकाले गएको श्रावण ५ गते ढुङ्गा लिलाम बिक्रिका लागि ठेक्का आब्हान गरेको थियो । नगरपालिकाले निकालेको सुचनाका आधारमा १६ लाख रुपँया कबोल गरी तस्करीमा संलग्न रहेका स्थानीय नेत्र सुब्बाले ठेक्का हात पारेका थिए । तर, सुब्बाले नगरपालिकासँग कबोल गरेको रकम बराबरको संझौता हुनु अगावै भण्डारण गरिएको क्षेत्रबाट ढुङ्गा गायब भएको छ ।

सम्झौता अघि नै ढुङ्गा गायव भएको बिषयमा मेचीनगर नगरपालिकाले अबिज्ञता प्रकट गरेको छ । प्रमुख कार्याकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङले बाढीले बगाउने भएकाले तिरिङखोला बगरबाट सुरक्षित स्थानमा सारिएको कुरा आफूलाई मेयर बिमल आचार्यले मौखिक जानकारी गराएको बताए । तर, खाम्याहाङले भनेको कुनैपनि स्थानमा उक्त ढुङगा भण्डारण गरिएको छैन । उनले ठेक्का लिएका सुब्बसग सम्भलौता भईनसकेको स्वीकार गरे । नगरपालिकाका कर्मचारी र ढुङ्गा तस्करीमा संलग्न स्थानीय नेत्र सुब्बा, अर्जुन बस्नेत, नबिन न्यौपाने लगायतका ट्याक्टरवालाको मिलेमतोमा उक्त ढुङ्गा बिक्रि गरिएको स्रोतको भनाई छ ।
ढुङ्गा तस्करी गर्नकै लागि गाँउमा सयबढी ट्याक्टर मेची नदि आसपासको ढुङ्गा तस्करीका लागि मात्रै बाहुण्डागीको तिरिङ र बासे क्षेत्रमा करिब एक सयवटा ट्याक्टर रहेका छन् भने उत्खनन्का लागि तस्करीमा संलग्न नबिन न्यौपाने र नेत्र सुब्बाको जेसिबी मेसिन र टिपर समेत रहेको छ । सरकारले कृषी अनुदानका लागि भन्दै एक प्रतिशत भन्सार शुल्कमा उपलब्ध गराएको ट्याक्टर यो क्षेत्रमा खुलेआम अबैध तस्करीमा प्रयोग हुदै आएको छ ।
छोटो समयमै पैसा कमाउन सजिलो देखेपछी गाउँका अधिकाशंले कृषि पेशा छाडेर अवैध उत्खनन् र ओसारपसारलाई प्राथमीकता दिदै आएका छन् । उनिहरुले वर्षैपिच्छे इलामको रोङस्थित मेची किनाराबाट अवैध चोरी गरि ल्याएको ढुङ्गा तिरिङ क्षेत्रमा भण्डारण गर्ने र उचित समयमा ठेकेदार सँगको मिलेमतोमा वैध बनाई बिक्री गर्दै आएका छन् ।