के गर्दैछन् क्रान्तियोद्धा दिगेन्द्रका परिवार ?

मुक्ति पौडेल
झापा । प्रधानमन्त्री के.पी. ओलीसँग करिब दशवर्ष सँगै जेल जीवन र लामोसमय भूमिगत राजनीतिमा सहकार्य गरेका स्व. दिगेन्द्र राजवंशीको परिवार आर्थिक विपन्नताको चपेटामा परेको छ ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्ध जीवनको उर्वरसमय समर्पित गरेका राजवंशीलाई २०२८ सालको झापा विद्रोहमा सक्रिय बनिरहँदा गरामनीस्थित निजी निवासबाटै गिर्फतार गरेको थियो ।

पञ्चायती शासनविरुद्ध खरो उत्रिएका उनी झापा कारागार, वीरगञ्ज, भद्रगोल, हँुदै नख्खु जेलमा झण्डै दश वर्षे अवधि वर्तमान प्रधानमन्त्रीलगायत तत्कालीन व्यवस्था विरोधी नेताहरुसँग कारावास जीवन बिताएका थिए ।
उबेलाको पञ्च प्रशासनको क्रुर र निर्मम यातना सहेर परिर्वतन, मुक्ति र स्वतन्त्रताका निम्ति संघर्षमा होमिएका राजवंशी २०३६ साल पुस ३० गते नख्खु जेलबाट छुटेका थिए ।
२००५ सालमा जन्मिएका कम्युनिस्ट नेता राजवंशीले २०२३ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता लिएका थिए ।

पहिलोपटक आफ्ना सहयात्री के.पी. ओली प्रधानमन्त्री बनेपछि २०६७ सालमा सानो सपनाको पोको बोकेर काठमाण्डौ हानिएका थिए उनी । उनको एउटै सपना थियो(आफ्नो कान्छो छोरो शम्भुलाई सानो तिनो जागिर दिलाउनु । तर, आफ्नो सपना साकार नहुने छाँट बुझेपछि पार्टी कार्यालयमै राजवंशीले आत्महत्या गरेका थिए ।

श्रीमति प्रमिला राजवंशीले भनिन जीवनभर घर परिवार त्यागेर स्वतन्त्रता र परिवर्तनका लागि जेलनेल भोगेका श्रीमान्ले पार्टी कार्यालयमै आत्महत्या गरेपछि परिवार बेसहारा हुनपुग्यौं । लामोसमयदेखि मुटुको बिरामी छु । नत घर छ, नत पैेशा नै, उनले भनिन् सकुञ्जेल बाटामा सागसब्जी बेचेरै बालबच्चा पालेँ ।
छोरा ऋषि राजवंशीले भने — बुवासँगै जेलनेल र भूमिगत राजनीति गर्नेहरु आज राज्यको सत्ता शक्तिको उन्मादमा छन् । उनीहरुको परिवारमा अभावको महसुस छैन । सँगै समानता र परिवर्तनका लागि लड्ने हाम्रो परिवार गाँस, बाँस, कपास,र अभिभावकको अभावमा तड्पिनुपरेको छ ।

पार्टी कार्यालयमै आत्महत्या गरेपछि पार्टीका नेताले स्व. दिगेन्द्रको शालिक निमाणर्सँगै एक कठ्ठा जग्गा खरिद गरी करिव ६० लाखको लागतमा घर निमाणर् गरिदिने लिखित निणर्य गरेको पनि एक दशक हुन लाग्यो । तर, अहिले पनि श्रीमति प्रमिला त्यो निणर्यको माइन्युट खाता सिरानीमा राखेर दिन गन्दै कुरिरहेकी छन् ।

अहिले स्व. राजवंशीले स्वतन्त्रता र परिर्वतनका लागि जेल जीवन बिताएको पार्टीले सत्ताको नेतृत्व मात्रै गरेको छैन, उनैका समकक्षी देशको प्रधानमन्त्रीको कुर्सीका बिराजमान छन् । तर, दिगेन्द्र जस्ता हजारांै योद्धाको परिवार बिचल्लीमा परेका छन् ।
सामाजिक अभियन्ता शेरबहादुर थापाले भने—दिगेन्द्र राजवंशी जस्ता योद्धाहरुको पहिचान गरी उनीहरुको परिवारलाई राज्यले उचित सम्मानसहित गाँस, बाँस, स्वास्थ्य, रोजगारको व्यवस्थापन गर्नुपर्छ ।