तुरुन्त पाँच सय शय्याको आइसोलेसन बनाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ । प्रदेश नम्मबर १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शय्याको आइसोलेसन तयार गर्न पदाधिकारीलाई निर्देशन गरेका छन् ।

बिरामीहरूले प्रभावकारी उपचार नपाएको र संक्रमितहरू घरघरमै बस्न बाध्य भएको गुनासो बढेपछि मुख्यमन्त्री राईले मंगलबार बिपीका पदाधिकारीहरू उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई मन्त्रालयमा बोलाएर पाँच सय शय्याको आइसोलेसन तुरुन्त बनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार कोभिड र अन्य सबै बिरामीहरूलाई उपचारको प्रभावकारी व्यवस्था मिलाउन पनि बिपीका पदाधिकारीहरूलाई निर्देशन गरेका छन् । ‘आएका सबै बिरामीको राम्रो उपचार गराउनुहोस् र कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस्,’ मुख्यमन्त्रीले निर्देशनमा भनेका छन् ।

पिसिआर परीक्षणको दायरा बढाउन र बिपीमा मुख्यमन्त्री राई आफैँले उदघाटन गरेको दुई सय बेडको कोभिड अस्पताल चाँडै पूणर् अवस्थामा सञ्चालनमा ल्याउन पनि पदाधिकारीहरूलाई अह्राएका छन् ।