राप्रपा नेतालाई खुल्ला पत्र

गोपाल पौड्याल

आदरणीय नेता ज्युहरु,
पटक पटकको विभाजन र विखण्डनको क्रमलाई भंग गर्दै दुई पार्टीको एकीकरण पश्चात राप्रपामा फेरि आशा एवम् भरोसा पलाएको छ। एकीकरणले राजनीतिक स्थायित्व र राष्ट्रवादी आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेल्ने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमानै अपेक्षा गरिएको छ।सबै आशावादी छौ तर ढुक्क हुन सकिरहेका छैनौं।
आदरणीय नेताज्युहरु,


नेपालमा रहेका कृयाशिल विभिन्न पार्टीहरुको बिचमा राप्रपा एउटा मात्र प्रमुख बैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी पार्टी हो। जसको आधार स्तम्भ राष्ट्रीयता,हिन्दुत्व र संवैधानिक राजतन्त्रसंग जोडिएको छ। नेतृत्व तह कमजोर हुदा संबैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र राष्ट्रवादी आन्दोलन कमजोर हुन्छ । हरेक निर्णय लिदा यी बिषयहरूलाई मनन गर्न अनुरोध गर्दछु । पार्टी स्थापना देखि अहिलेसम्म तपाईंहरुले गरेका प्रतिबद्धता सम्झनुस त अनि सोच्नुस कति पटक पार्टी फुटाउनु भो र किन फुटाउनु भयो ? कति पटक कार्यकर्तालाई धोका दिनु भो ? पार्टी फुटाउन ती अवोध कार्यकर्ताहरूको के दोष थियो ? माथिल्लो तहका नेताज्युहरुले मात्र यो गर्नु भएको होइन र ? त्यति हुदा पनि कहिले पनि जनताले हामीलाई धोका दिएका छैनन् । एउटा दुईवटा मात्र होइन तीनवटा पार्टी हुदा समेत जनताले हामीलाई शानदार मत दिएका छन। सम्झनुस त ती दिनहरू,जव मतदाताहरु उज्यालो नहुदै विभिन्न डर, त्रासका वावजुद मतदान केन्द्रमा गएर हामीलाई मतदान गर्नु भो । सम्झनुस त कति टाढा टाढाबाट खाली खुट्टा र खाली पेट भोकभोकै मतदान गर्ने ती मतदातालाई । कति विरामी थिए होलान्,कति अशोच वारेका थिए होलान्,कति सुत्केरी थिए होलान, कति वृद्ध वृद्धाहरु लठ्ठी टेकेर मतदान गरे होलान। ती हामीलाई खसालेका मतहरु केवल हावादारी कागज मात्रै थिए ? के ती जनताले गरेका विश्वासका मतहरु केही व्यक्तिका स्वार्थका लागि मात्र थिए ? गाउँ गाउँमा रहेका ती तमाम कार्यकर्ताहरुको अनुहारको पीडा सम्झनु भएको छ ? हामीलाई मत दिदा देशमा संबैधानिक राजसंस्था स्थापना होला ,हिन्दुराज्य स्थापना होला ,भ्रष्टाचारको अन्त्य होला विदेशमा ती ४० डिग्री गर्मीमा काम गर्ने युवाहरुले देशमै रोजगारी पाउलान भन्ने होइन र ? यी उज्यालोको सपना वोक्दै मत हालेका मतदातालाई कति पटक निराश बनायौ । यसको हिसाब कार्यकर्ता र मतदाताले कोसंग खोज्ने ? तपाईंहरुलाई विश्वास गरेर सत्तामा पुग्दा मतदाताहरुको ऑखामा छचल्किएको खुशी केही दिनमै आसमै परिणत हुदाको क्षण महशुस गर्नु भएको छ ? हाम्रो यात्रा भर्खर शुरु भएको छ । हामीले पार्टी एकीकरणको घोषणा मात्र गरेका छौ त्यो अझै अपुरो अधुरो र कमजोर छ । निराशा र अन्योलताको बादल अझै मडारी रहेको छ ।यस्तो सुन्दा आम कार्यकर्ता दुखी र निराश छौ ।पार्टी स्थापनाकालदेखि निरन्तर लागेका साथीहरूको सपना पूरा गर्नुछ । यही अभियानमा लागे बापत जीवन उत्सर्ग गर्ने सहिदहरुको सपना पूरा गर्नु छ । यहि गतिले त्यो संभव छ त ? कतिले काटिनु पर्य‍ो , कतिले गोली खानु पर्य‍ो,कति अपांग भएका छन भने यो विचार बोकेकै कारण कतिले समाजबाट वहिष्कृत हुनुपर्यो। चुनावमा लडेर हारेर श्रीमतीको फुली र वुलाकी मात्र होइन बारीको पाटा वेचेर ऋण तिर्नेहरुको कथा पनि सुन्नु भएकै होला । गन्तव्य टाढा छ,अगाडि धेरै काला वादलहरु मडारिरहेका छन । भन्नुस त अबको बाटो सहज छ त ? पार्टी एकता घोषणा गर्दैमा गन्तव्यमा पुग्यौं त ? अब जोखिम छैन त ? कति गर्नु हुन्छ विवाद ? कहिले वरियताको किचलो, कहिले सोफामा वसाईको किचलो,कहिले झण्डाको किचलो , कहिले चुनाव चिन्हको किचलो , कहिले भाषणमा को अघि र को पछिको किचलो । कहिले सोच्नु भएको छ गरिव दुखि जनताको पीडा ?जनताले कस्तो रुपान्तरणको आशा गर्ने ? जनताको अपेक्षा र हाम्रो कार्य सम्पादन विचको दुरीले सिर्जना गरेको असन्तुष्टिलाई समायोजन गर्न सकिएन भने अब हामी उठन कठिन हुन्छ । सधै विश्वास आर्जन गर्न सकिन्न ।कार्यकर्तामा कुनै समस्या छैन नेताहरूको व्यवस्थापनमा मात्र समस्या छ ।
आदरणीय नेता ज्युहरु,


अब पनि झिना मसिना कुरामा अल्झेर पार्टीलाई अनिर्णयको बन्दी बनाउनु भो भने इतिहासमा मात्र सिमित हुनु पर्नेछ । तपाईंहरूको विगतको योगदान सिमित र व्यक्तिगत स्वार्थको लागि मात्र रहेछ भन्ने वुझ्नेछन। आदरणिय नेताज्युहरु,विगतमा जे जति कमिकमजोरी भए पनि गाउँ गाउँमा , चौक चौकमा चिया पसलहरुमा विपक्षी कार्यकर्ताहरुसंग औला ठड्याउदै ऑखामा ऑखा जुधाउदै कार्यकर्ताहरु तपाईंहरुकै पक्षमा वहस गरिरहेका छन। ती तमाम कार्यकर्ताहरूको शिर झुक्ने काम नगर्नु होला। अझै धेरैले आशा राखेका छन। सहि निति र कार्यक्रम वनाएर अगाडि वढ्ने हो भने अझै जनताले ठुलो आशा राखेका छन। निति र सिद्धान्त मिले चुनाव चिन्ह र झण्डा गौण हो।अव पनि यो या त्यो बहानामा पार्टी एकिकरणलाई गन्तव्य सम्म पुराउन सक्नु भएन भने पार्टीका ईमान्दार कार्यकर्ताहरू सहेर बस्ने छैनन ।ईमान्दार कार्यकर्ताहरूले जुन सुकै कदम उठाउन बाध्य हुनेछन ।

( लेखक राप्रपाका केन्द्रीय सदस्य तथा मिडिया नेपालका अध्यक्ष हुन।)