उच्च सतर्क रहन सबैलाई मन्त्री कार्कीको आग्रह

झापा / प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लक्षण सहितको कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेको भन्दै उच्च सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा अब कोरोना भाइरस महामारीको रुपमा फैलिन थालेको पनि बताउनुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्नुहुँदै मन्त्री कार्कीले संक्रमितको संख्या बढेसंगै प्रदेश सरकारले प्रयोगशाला परीक्षणलाई बढाउने तयारी सरकारले गरिरहेको जानकारी पनि दिनुभएको छ । ‘अब हामी अझै बढी क्षमताका साथ प्रदेश भित्र उच्च परीक्षण ल्याब र परीक्षण बढाउने छौ । सिमा वारिपारी आवतजावत र हाम्रा गाउँ शहरका गतिविधि अलि सुरक्षित र ब्यवस्थित गर्ने छौ । सरकार र निजी क्षेत्र द्वारा गरिने दैनिकी कार्य, उत्पादन र वितरण क्षेत्रका कामहरु , सेवा प्रवाह गर्ने कामहरु थप ब्यवस्थित गरिने छ ,’ मन्त्री कार्कीले भन्नुभएको छ । उहाँले सरकारले सीमापार आवतजावतमा अझ निगरानी बढाउने र कडाई गर्ने संकेत पनि गर्नुभएको छ ।

तराईका केही जिल्लाका केही ठाउँमा सीमित भाइरस पछिल्लो समय गाउँघर नजिक आइपुगेको भन्दै उच्च सर्तकता अपनाउँदै हिडडुललाई कम गर्न तथा स्वास्थ्य सम्वन्धी प्रोटोकलहरुमा ध्यान दिन उहाँले अनुरोध गर्नुभएको छ ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित कार्ययोजना बनाएर काम गरेको भन्दै उहाँले सरकारी व्यवस्थापनको विषयलाई लिएर कतिपयले अफवाहसमेत फैल्याएको भनी आलोचना पनि गर्नुभएको छ ।

मन्त्री कार्कीले सुरक्षितरुपमा आफ्ना दैनिकीहरु सञ्चालन गर्न तथा निजी क्षेत्रले उत्पादन र वितरणको कामलाई व्यवस्थितरुपमा अघि बढाउन पनि अनुरोध गर्नुभएको छ । उहाँले आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मान्यतामा आधारित भएर पछिल्लो महामारीको प्रतिरोध गर्नुपर्ने पनि बताउनुभएको छ ।