कोरोनासँगै जनतालाई महंगीको मार

 

काठमाडौं । देशमा एकातिर कोरोनाको महामारी छ, अर्कोतिर महंगीले जनताको ढाड सेक्न थालेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा कृत्रिम मूल्य वृद्धि गरिएको छ । बजारको नियमन गर्नुपर्ने सरकारी निकायहरु कानमा तेल हालेर बसेका छन् ।

पछिल्लो एक-दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा र सेवा क्षेत्रमा समेत उपभोक्ता ठगिएका छन् ।
औचित्य र कारणबिनै भएको मूल्य वृद्धिले कोभिड १९ का कारण आर्थिक उपार्जन र रोजगारी गुमाएका जनता महंगीको थप मारमा परेका छन् । बजारमा वस्तु र सेवाको मनोमानी मूल्य वृद्धि हुँदा सरकार निरीह देखिएको छ ।

तरकारीमा ६ सय प्रतिशतसम्म मूल्य वृद्धि

पछिल्लो एक महिनामा तरकारीको मूल्य ६ सय प्रतिशतसम्म महंगिएको छ । दैनिक उपभोग हुने आलु, काउली, खुर्सानी लगायतका ३ दर्जनभन्दा धेरै प्रकारका तरकारीको भाउ वृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

डेढ महिना अगाडि ३३ रुपैयाँमा पाइने आलुको प्रतिकेजी मूल्य १०३ प्रतिशतले बढेर ६७ रुपैयाँ पुगेको छ । काउली र बन्दा गोभीको मूल्य प्रतिकिलो क्रमशः ४२२ तथा २६६ प्रतिशतले बढेको छ । २२ रुपैयाँ किलोमा पाइने रायो र पालुङ्गोको सागको मूल्य ८५ रुपैयाँ पुगेको छ ।

खाद्यान्नमा मनपरी मूल्य

पछिल्लो सामय बजारमा चिनीको अभाव देखिन थालेको छ । खुद्रामा चिनीको प्रतिकिलो मूल्य १५ रुपैयाँसम्म महँगो भएको उपभोक्ताको गुनासो छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चामल, चिनी, बिस्कुट, चाउचाउ लगायतका वस्तुको मूल्य बढेको छ । विदेशबाट आयात भएका तथा नेपालमै उत्पादन भएका वस्तुमा पनि मूल्य बढाइएको खुद्रा व्यापार संघका सदस्य ध्रुव अधिकारीले बताए ।