सुनको भाउ लाख नाघ्यो, एकै वर्षमा ३३ हजारले बढ्यो, अर्को वर्ष के होला ?

काठमाडौं । कोभिड-१९ का कारण विश्व अर्थतन्त्र कमजोर बन्दा त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको छ । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ ।
गत २०७६ साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको सुन ठ्याक्कै एक वर्षमा तोलामा ३३ हजार ४ सयले बढेर साउन २१ गते (आज) १ लाख १ हजार ४ सय पुगेको छ ।

यस्तै चाँदीको पनि एक वर्षमा ठ्याक्कै ५ सयले बढेको छ । गत साउन २१ गते तोलाको ७९५ रुपैयाँ रहेको चाँदी यस वर्ष बढेर १२ सय ९५ रुपैयाँ पुगिसकेको छ ।

किन्नेभन्दा बेच्ने बढी
सुनको मूल्य अत्यधिक बढेपछि बिक्रीभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य सुनचाँदीको भाउ महँगो भएपछि सुन खरिदकर्ता भन्दा आफूसँग भएको सुन बेच्न आउने बढी रहेको बताउँछन् ।

“सुन खरिद गर्न आउने सर्वसाधारण मूल्य सुनेपछि फर्किन थालेका छन् । आफूसँग भएको सुन बेच्न आउनको संख्या भने बढी छ,” उनले भने । व्यवसायी ऋण निकालेर भए पनि सुन बेच्न आउनेको सुन व्यवसायीहरुले खरिद गर्ने गरेको उनले दाबी गरे । तर, महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा भने सुनको भाउ बढ्दै जाँदा सुन बेच्ने र किन्ने नै नरहेको बताउँछन् । “केही व्यवसायीकोमा सुन बेच्ने पनि होलान् तर देशभर सुनको कारोबार भएको छैन,” उनले भने ।
दसैंसम्म एक लाख २५ हजार पुग्ने अनुमान

विश्व बजारमा तीव्र गतिमा सुनचाँदीको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि परेको हो । एकै वर्षमा ३३ हजार बढीले बढेको सुनको भाउ दसैंसम्म बढेर तोलाको एक लाख २५ हजार पुग्ने अनुमान गरिएको व्यवसायी बताउँछन् ।

सुनको मूल्य लाख नाघ्यो, तोलाको १ लाख १ हजार ४ सय

“जुन गतिमा सुनचाँदीको भाउ विश्व बजारमा बढेको छ, त्यसलाई हेर्दा दसैंसम्म १ लाख २५ हजार पुग्ने हाम्रो अनुमान छ,” उनले भने ।

कोभिड(१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण सुनचाँदी भाउ बढेको महासंघले जनाएको छ । कोभिड(१९ ले विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको र त्यसको असर अझै लामै समयसम्म रहने भएकाले भाउ अझै बढ्ने शाक्यले बताए ।

अन्य क्षेत्रमा गरिने लगानीभन्दा सुन गरिने लगानी कम जोखिममा पर्ने भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य बढेको जानकार बताउँछन् ।

अर्को वर्ष यसरी नै झर्न सक्छ

जसरी यो वर्ष सुनचाँदीको भाउ तीव्र रुपमा बढिरहेको छ, त्यसैगरी आगामी वर्ष मूल्य झर्न सक्ने सुनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले उल्लेख गरेका छन् । कोभिड(१९ ले समग्र विश्व अर्थतन्त्रलाई नै निकै असर पुर्‍याएको र लगानीकर्ताले सुनमा गरिएको लगानी सुरक्षित देखेकाले माग बढ्दै जाँदा मूल्य पनि बढ्दै गएको जानकारी बताउँछन् ।