प्रचण्ड भन्छन् ओलीले मसँग बदला लिन खोजे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् ।

पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए ।

केपी ओली र प्रचण्डको बीचमा पदको लडाई हो भन्ने प्रचार भइरहेको भन्दै चारै नेताले त्यसको खण्डन गरे । ‘पार्टीभित्रको बहसलाई जसरी पदको निम्ति छिनाझपटी हो कि भनिएको छ, त्यो होइन’ अध्यक्ष प्रचण्डले भने ।

आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मंसिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छाडेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’