देशभरका १४ जिल्लामा निषेधाज्ञा
हेर्नुहोस कुन जिल्लाको कहाँ ??

काठमाडौँ – कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले देशका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाएको छ । गृह मन्त्रालयका अनुसार धनुषा, सप्तरी, नुवाकोट, मोरङ, बाँके, बारा, पर्सा, महोत्तरी, सुनसरी, सर्लाही, झापा, बझाङ, दार्चुला, र स्याङ्जाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

बाँके, पर्सा, बारा, सप्तरी, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी भएको छ । पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञाको घोषणा गरिएको छ ।

त्यस्तै झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा निषेधाज्ञा लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा पनि निषेधाज्ञा लगाइएको छ । त्यस्तै दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।