व्यक्ति हत्यामा संलग्नलाई तत्काल पत्ता लगाउन सांसद साँवाको माग

झापा/झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या घटनाका दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन्।

उनले जघन्य प्रकृतिको हत्या घटनामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने पनि माग राखेका छन्। सांसद साँवाले प्रहरी कार्यालयको करिब एक किलोमिटर दुरीमा हत्या घटना हुनुले आम सर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको पनि आरोप लगाएका छन्।

साँवाले पीडित परिवारसँग भेटेर घटनाबारे जानकारी लिएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालालाई उनले अनुसन्धानको हरेक उपाय अपनाएर भए पनि अपराधीसम्म छिट्टै पुग्न माग गरेका छन्। मंगलबार साँझ घरबाट निस्किएर राति अबेरसम्म पनि घर नर्फकिएपछि गोमनका आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए। परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्क गर्दा उनले प्रयोग गर्ने मोबाइल अफ थियो।