लकडाउन यता प्रदेश १ मा १८ जनाको हत्या

दमक । कोरोना भाइरस संक्रमण फैलिएसंगै सरकारले गरेको लकडाउनका अवधिमा प्रदेश १ मा १८ जनाको हत्याको घटना भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गत चैत ११ गते यता प्रदेश-१ का १४ जिल्लामा भएका विभिन्न घटनामा १८ जनाको हत्या भएको छ । चैत ११ गतेबाट भदौ १८ गतेसम्म अर्थात १६५ दिनमा नवजात शिशुसहित बृद्ध-बृद्धाको समेत हत्या भएको प्रहरीले जनाएको छ ।

गत बुधबार मात्रै झापाको शिवसताक्षी-११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको बिभत्स हत्या भएको छ ।

उनको घाँटी रेटिएको अवस्थामा रतुवामाई बृक्षरोपण आयोजनाको जंगल हातामा शव फेला परेको थियो । मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धान भईरहेको डीएसपी राकेश थापाले जानकारी दिए ।