झापामा २८, सहित प्रदेश १ मा थप एकसय ४३ जनामा कोरोना पुष्टि

झापा /आइतबार प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा मात्रै ७१ जनामा संक्रमण पुष्टि भएको हो । एक महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनीहरु धरानको फुस्रेस्थित नेपाली सेना र उनीहरुका परिवारका सदस्य भएको जनाइएको छ ।

सुनसरीकै इटहरी उपमहानगरपालिकामा ५ महिला र २ पुरुष, मोरङको विराटनगर महानगरपालिकामा ९ महिला र १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला रहेका छन् ।

झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा ३ जना, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ ।

आइतबार १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ मा ९८ हजार ४ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको पनि जनाइएको छ ।