झापामा ३ सहित प्रदेश १ मा बुधबार १ सय ५५ संक्रमित थपिए

झापा /झापा जिल्लामा ३ जनासहित प्रदेश १ मा बुधबार १ सय ५५ कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८० , सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना संक्रमित थपिएका छन् ।

विराटनगरमा ३० महिला र ४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला र ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा १३ महिला र ९ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४ महिला र १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला र ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला र २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमल गाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ । बुधबार १ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण गरिएकोमा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म १ लाख ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।

बुधबार प्रदेश १ मा ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४ जना, जीवन विकास आधारभुत विद्यालय धनपालथानबाट १३ जना, जिल्ला अस्पताल संखुवासभाबाट ५ जना र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।