उपचार अभावमा छटपटाई रहेकी अरिस्ताको जीवन बचाईदिन अपिल

झापा । दुबै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९ फारम टोल निवासी १७ वर्षीया अरिस्ता परियारको जीवन बचाई दिन अपिल गरिएको छ ।
अरिस्ता परियार बचाउ अभियानले मेची उद्योग वाणिज्य संघको सभाहल धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन सबैमा अपिल गरेको हो ।
मेचीनगर १० स्थित धुलाबारी माविमा कक्षा ११ मा अध्ययनरत आरिस्ताको यतिबेला दुबै मृगौलाले काम गर्न छाडेका छन् ।
पत्रकार सम्मेलनमा अरिस्ताकी आमा लक्ष्मी परियारले अहिले हप्तामा दुई पटक नियमित डाईलासिस गरीरहनु परेको बताइन् ।
परिवारको आर्थिक अवस्था दयनीय रहेको र उनको मृगौला प्रत्यारोपण गर्न ठुलो धनराशी जुटाउनु पर्ने भएकाले आर्थिक सहयोग गरी छोरीको जीवन बचाई दिन अरिस्ताकी आमा परियारले सबैमा विनम्र अनुरोध गरिएको छ ।
अरिस्ता बचाउ अभियानका संयोजक मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले हाम्रो एउटा सानो सहयोगले अवोध बालिकाको जीवन बाँच्न सक्ने भन्दै यथासक्य सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
अभियानका सह संयोजक मेचीनगर १० का अध्यक्ष सुवेशकुमार पनेरुले अभियानको सदस्यको रुपमा रहि काम गरिदिन र अरिस्ताको जीवन बचाउने अभियानमा सहयोग पुर्‍याउन अपिल गर्नु भएको छ ।
अभियानका सचिव मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनालले हालसम्म २ लाख ४० हजार ८०० सहयोगको प्रतिवद्धता भएको र नगद रु ५२ हजार प्राप्त भईसकेको जानकारी दिए ।
अरिस्ताकी आमा मेचीनगर वडा नं ९ की नगर परिषद सदस्य रहनु भएको छ भने बुवा सामान्य रुपमा सिलाई पेशा गर्दै आएका छन् । मेचीनगर नगरपालिका, जन प्रतिनिधिहरुमार्फत सहयोग जुट्ने
क्रम जारी रहेको छ । साथै जिल्लामा रहेका दलित संगठनहरुले समेत सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।
हाल अरिस्ताको हप्तामा २ पटक भद्रपुर स्थित ओम साई पाथिभरामा डाईलासिस भई रहेको छ । एक पटकमा न्युनतम १० हजार खर्च लाग्ने हुँदा आर्थिक अभावका कारण उनको डाईलासिस गर्न समेत कठिनाई उत्पन्न भई रहेको आमा लक्ष्मी परियारले पत्रकार सम्मेलनमा बताइन् ।
दुबै मृगौला खराब भएसंगै अरिस्ताको शीघ्र प्रत्यारोपण गर्नु र्ने चिकित्सकहरुले बताएका छन् ।
अरिस्ताको उपचारमा सहयोग पुर्‍याउन इच्छुक सबैमा एनएमबी बैंक, धुलाबारी शाखाको खाता नं ः १७५० १४३०६९ ००००११ मा रकम जम्मा गर्न सकिने अभियानले जानकारी दिएको छ ।