एकै दिन २०२० जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गर्दा २०२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

योसँगै कूल सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टा ८७१ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४३ हजार ८२० जना पुगेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७१.१ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १७ हजार ३८३ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै क्वारेन्टिनमा सात हजार ७३६ जना रहेका छन् । त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, रसुवा, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

त्यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३९० जना पुगेको छ ।