एसिड अक्रमण निराकरणका बहुपक्षीय उपाय खोजिनु पर्छ 

बिगत केही वर्ष यता नेपाली समाजमा एसिड आक्रमण एक ठूलो चुनौतीका रुपमा खडा भएको छ । विशेष गरी किशोरीहरु एसिड अक्रमणको शिकार भइरहेका छन् । तर यो जघन्य अपराधको रोकथामका लागि राज्यका तर्फबाट विशेष पहल उपलब्धी मूलक हुन सकिरहेको थिएन । केहीदिन अघि मात्र मन्त्री परिषदमा पेश गरी अध्यादेश मार्फत ल्याइएको कानूनले यसमा केहि आशा भने जगाएको छ । उक्त कानूनमा एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म जेल सजाय र १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर के यतिले मात्र यस्तो जघन्य अपराध रोक्न सक्छ त भन्ने प्रश्नलाई दिनानुदिन महिलामाथि हुने जघन्य हिंसाका घटनाले चुनौती दिईरहेका छन् ।

किनकि हामी देखि सकेका छौँ सङ्गिता मगर, खुस्बु खातुन जस्ता धेरै बैनीहरुको पीडा । सरकारले एसिड आक्रमण विरूद्धको कानून ल्याईरहेका बेला नै घटेको अबोध बालिका सम्झना बिकको बलात्कारपछि हत्याको दानवीय घटनाले समाजमा व्याप्त पाशविकतालाई उदांगो पारेको छ । यस्ता घटनाहरूको कारक जरा पत्ता लगाउँदै जाँदा महिलालाई समाजमा महिलालाई हेर्ने दृष्टिकोणबाट नै मानिसको सोच यस्ता अपराधसम्म पुग्ने गरेको देखिन्छ ।

महिला माथि हुने घरेलु र तथा बाह्य हिंसाका कतिपय घटना, जुन सामान्य अवस्थामा सतहमा देखिँदैनन् तिनै घटना घटाउने पिडकहरूको आपराधिक सोच विकसित हुँदै एसिड आक्रमण, बलात्कार र हत्यासम्म पुग्ने गरेको छ ।पिडकहरूले कानूनी कार्वाहिको दायरा नआउन्जेलसम्म महिलामाथि गरिने यौनजन्य हिंसालाई संस्कारगत छुट र शक्तीको आडमा अगाडि बढाउदै लाने र पछि त्यो नै क्रमशः जघन्य अपराध तिर उद्यत हुने गरेको पाइन्छ ।

महिला माथि हुने यस्तो जघन्य अपराधप्रति राज्यको र समाजको मौनता देख्दा यस्तो लाग्छ अपराधिले अपराध गरिरहेको होईन, होलीमा रङ्ग छ्यापेर रमाउदै छ । एसिड आक्रमण पनि नेपालमा गम्भिर समस्या बन्दै छ । तर एसिड आक्रमण हुनुका कारण र नियन्त्रणका उपाय बारे जति धेरै बहस, छलफल चासो र चिन्ता हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । जसले गर्दा एसिड आक्रमणका घटना नियन्त्रण हुनुको सट्टा झनै बढ्न सक्ने चिन्ता बढेका छ ।

अहिले ल्याईएको कानूनलाई कडाई साथ कार्यान्वयन गर्ने र अपराधि कुनै पनि अवस्थामा उम्कन सक्दैन भन्ने कुरालाई सन्देशको रूपमा निरन्तर प्रवाह गर्नमा कोहि पनि चुक्नु हुँदैन ।एसिड प्रकरणहरूमा हेर्ने हो भने यो विशेष गरेर प्रेम प्रस्तावसँग जोडिएर आउने गरेको छ । आफूले माया गर्ने भनिएको मानिसलाई नै यस्तो आक्रमण गर्नु प्रेम किमार्थ हुन सक्दैन । यसले नारीलाई वस्तुका रूपमा हेर्ने दृष्टिकोण समाजमा व्याप्त रहेको र नारी माथि जसरी पनि आधिपत्य जमाउनु पर्छ भन्ने पुरुषप्रधान सोच र संस्कारले यस्ता घटनालाई बढावा दिने गरेको निश्चित छ ।

यस किसिमको सोचलाई परिवर्तन गर्न प्रत्येक आमाबाबुले आफ्ना सन्तान विशेष गरेर छोराहरूलाई उचित शिक्षा र सँस्कार दिन जरूरी छ । त्यसपछि यस्ता घटना घटिहालेमा दोषिलाई कडा कारबाही गर्ने र मिडियाहरूले पनि कारबाही भएका घटनालाई प्राथमिकता साथ प्रचारप्रसार गर्न जरूरी हुन्छ । ताकी अपराधी मानसिकताका मानिसले अरू घटना घटाउनमा हिच्किचाउन ।यसका अलावा रोक्न हामीले छोरीहरूलाई पनि यस बारेमा सचेत गराउन जरूरी छ । यस्ता घटनामा अधिकांश पिडित र पीडक दुबैको उमेर किशोरावस्था पाइएको छ ।

पढाईमा तेज किशोरीहरुलाई पनि एसिड आक्रमण बढि हुने गरेको देखिएको छ । किशोरीहरूको बौद्धिकता र सुन्दरताबाट आकर्षित हुने र पछि त्यो आकर्षणनै तृष्णामा बदलिने गरेको पनि देखिन्छ । क्षणिक आवेगमा आई त्यसलाई नियन्त्रण गर्न नसक्नु र परिणामबारे अड्कल नै गर्न नसक्नुले एसिड आक्रमण बढेको पक्षलाई पनि नकार्न मिल्दैन । त्यसैले किशोरीहरूले पनि यस्ता जोखिमहरूलाई ध्यानमा राखेर मात्र सम्बन्धलाई कति निकट बनाउने भन्ने दायरा तय गर्नुपर्छ ।

हाम्रो समाजमा विभिन्न किसिमका विवेधहरूले युक्त भएको हुँदा सुरुको अवस्थामा निकटसम्बन्ध राख्ने तर वर्गीय तथा जातिय आधारमा सम्बन्धलाई पछिबाट अस्विकार गरिएको प्रतिक्रियाका रूपमा यस्ता अपराध भएका पनि छन् ।

त्यस्तो अवस्थामा ती विवेधका कुराहरू बाहिर आउँदैनन् वा आएपनि घटित भएको अपराधका सामुन्ने ती कुरा गौण हुन जान्छन् । त्यसैले किशोर अवस्थामा सम्बन्धलाई कुन हदसम्म लाने भन्ने कुराहरू छोरा र छोरीलाई नै परामर्श दिने प्रत्येक बाबुआमाको कर्तव्य हो ।

मनले राम्रो भए मात्र मानिस राम्रो हुन्छ, आफूलाई कुनै कारणले घृणा गर्ने वा बेवास्ता गर्ने मानिसलाई भौतिक रूपमा आक्रमण गर्नुभन्दा त्यस्तो सम्बन्धलाई सहज रूपमा अन्त्य गरेर खुसी हुनु बुद्धिमानी हुन्छ भनेर किशोरकिशोरीहरूलाई सिकाउन जरूरी हुन्छ ।लेखक महिला तथा बालबालिकाका बिषयमा कलम चलाउनु हुन्छ )