रौतहट बमकाण्ड : फरार अभियुक्त इँटा भट्टाका प्रमुख मिस्त्री पक्राउ

रौतहट : रौतहटको राजपुर बमकाण्डका फरार अभियुक्तमध्ये एक जनालई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका बद्री सहनी ईटा पोल्ने भट्टाका प्रमुख मिस्त्री रहेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको प्रदेश दुईका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

सहनीलाई नेपाल भारत सिमानामा पर्ने बौधिमाई नगरपालिका–७ बडकी बंकुलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सहनी घटनाको समयमा ईटा भट्टाको हेड मिस्त्री रहेको र उनले आफताब आलम र महताब आलमको निर्देशन बमोजिम बम विष्फोटनका घाइते तथा मृतकलाई ईटा भट्टाको आगोको भुंग्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए ।

२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका नेता स्वर्गीय शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको ईटा भट्टामा लगेर पोलेको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सासंद तथा कांग्रेस नेता आफताव आलम अहिले कारागारमा छन् ।

आलमलाई घटनाको १२ वर्षपछि प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । आफताल आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । विष्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको एकिन भएको छैन ।

तर सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्मद आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।