विरामीको बहाना बनाएर ठगी धन्दा ;उपचारका नाममा पैसा उठाउने तीनजना पक्राउ

सुनसरी : विरामीको बहाना बनाई उपचारका लागि सहयोग संकलन गरी ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीले त्यस्ता मानिससँग सचेत रहन आग्रह गरेको छ ।

सुनसरीको इटहरीमा उपचारको लागि सहयोग माग्दै चन्दा उठाउने तीन जना पक्राउ परेपछि प्रहरीले त्यस्ता मानिसहरूबाट सचेत रहन र शंका लागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह पनि गरेको छ ।

केही दिनअघि सुनसरीको इटहरी वडा नं २ स्थित देवीथान क्षेत्रमा कसैले छोेराको किड्नी फेल भएको, कसैले कान नसुन्ने र कसैले आँखा नदेख्ने विरामी भएर उपचारका लागि भनेर आर्थिक सहयोग माग्दै हैरानी पारेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीको सूचनापछि प्रहरीले सुनसरीको धरान–१६ गैरीगाउँ बस्ने २१ वर्षीय अमन मगर, भोजपुर कटुन्जे–९ घर भई धरानमै बस्दै आएका २५ वर्षीय मदन खत्री र झापा खुदुनावारी घर भई धरान बस्ने ४२ वर्षीय ललित गिरीलाई पक्राउ गरेको थियो ।

उनीहरूको गतिविधि शंकास्पद देखिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरूको साथबाट उपचारका लागि सहयोग गर्न आग्रह गरिएका सिफारिस र चन्दा रसिद समेत बरामद भएको प्रहरी निरीक्षक रमेश बस्नेतले बताए ।

गत बिहीबार पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । स्थानीयवासीको सूचनाले धेरै ठगी गर्न नपाएको र धेरै रकम पनि बरामद नभएकाले उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

विराटनगर लगायत पूर्वका प्रमुख शहर तथा गाउ“घरमा समेत मुटुरोग, क्यान्सर, किडनी, आ“खा नदेख्ने जस्ता रोग लागेको र आर्थिक अभावले उपचार गर्न नसकेको भन्दै सहयोग माग्नेहरू घुमिरहेको देखिन्छ ।

कतिपयले त गाडीमा ब्यानर झुण्डयाएर सहयोग संकलन गर्दै आइरहेका देखिन्छन् । प्रहरीले त्यस्ता मानिसहरुको वास्तविक कुरा बुझन र नठगिन पनि आग्रह गरेको छ ।

विभिन्न सामाजिक संघसंस्था वा सहयोगीहरूको गरेको सहयोगले आर्थिक रुपमा विपन्न कतिपय मानिसको उपचार गर्न वा घरवासका लागि सहयोग पुगेका थुप्रै उदाहरण छन् । तर उपचारका लागि भन्दै ठगी गर्ने यस्ता प्रवृत्तिले वास्तविक पीडितहरूले सहयोग नपाउने अवस्था सृजना भएको छ ।